टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

Mirtu 1

उदयपुर । टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक व्यक्ति घाइते भएका छन् ।

उदयपुरको उदयपुरगढी गाउँपालिका ७ घुम्तिमा शनिबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो ।

मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग भएको ना १ क ८३४७ नम्बर टिपरले बा ९३ प ९४३२ नम्बरको मोटरसाईललाई ठक्कर दिँदा मोटरसाईलमा सवार उदयपुरगढी गाउँपालिका ७ का ४८ वर्षीय बलबहादुर मगरको ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार वलबहादुरका छोरा २५ वर्षीय सुजन मगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले बताए । घाइतेलाई उपचारका लागि बिराटनगर पठाइएको छ ।

नेपालटारबाट गाईघाट आउने क्रममा सोही दिशाबाट आउँदै गरेको टिपरले मोडमा ओभरटेक गर्न लाग्दा दुर्घटना भएको स्थानीय नानु थापाले बताइन् ।

मोटरसाईललाई ठक्कर दिएपछि फरार रहेका टिपर चालकको खोजी कार्य भइरहेको एसपी राईले बताए ।

टिपर र मोटरसाइल घटनास्थलमै रहेको छ । राजमार्ग निर्माणमा प्रयोग हुने सवारी साधनहरु सिकारु सहचालकले चलाउने गरेकाले दुर्घटना बढेको स्थानीयको आरोप छ ।

सदरमुकाम गाईघाटबाट ३५ किलोमिटर पश्चिमी क्षेत्रमा निर्माणाधीन राजमार्गमा चल्ने यातायातका साधनमा ट्राफिक निगरानी नहुँदा पनि दुर्घटना बढेको स्थानीयको भनाइ छ ।

प्रतिकृया दिनुहोस