महिला दिवसको कार्यक्रममा पुरुष पदयात्रा, महिलाको उपस्थिति शून्य

Purus pad yattra222

वीरगन्ज । नेपालमा विभिन्न कार्यक्रम गरी १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै छ । ती सबै कार्यक्रममा महिलाको उल्लेख्य उपस्थिति देखिन्छ ।

तर वीरगन्जमा अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसकै अवसरमा आयोजना गरिएको एक कार्यक्रममा भने महिलाको उपस्थिति शून्य रह्यो ।

त्यस कार्यक्रममा महिलाहरुलाई आमन्त्रण नै नगरिएकोले त्यहाँ पुरुषको मात्र सहभागिता थियो ।

आमन्त्रण नगरे पनि घण्टाघर चोकमा आयोजित कार्यक्रममा सहभागिताका लागि भन्दै जिल्ला प्रहरी कार्यालय पर्साबाट आधा दर्जनको संख्यामा महिला प्रहरी आएका थिए ।

तर ती महिला प्रहरीलाई कार्यक्रमका आयोजकले यो पुरुषपद यात्रा भएकाले पुरुषहरु मात्र सहभागी हुन पाउने भनेपछि महिला प्रहरीहरु आश्चर्य मान्दै कार्यालय फर्किएका थिए ।

अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वीरगन्जमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहकार्यमा युवालय नामक संस्थाले पुरुषहरुको मात्र सहभागितामा पुरुष पदयात्रा निकालेको हो ।

वीरगन्जको घण्टाघर चोकबाट सुरु भएको पुरुष पदयात्रा, माइस्थान , आदर्शनगर , घडीअर्वा पोखरा हुँदै पुन घण्टाघर चोकमा फर्किएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने संघसंस्थाका अगुवाहरुले महिलामाथि हुँदै आएको हिंसा र विभेदीकरण अन्त्यका लागि पुरुषहरु पनि लागेको भन्ने सन्देश दिन पुरुष पदयात्रा निकालिएको बताए ।

महिला हिंसा गर्ने पुरुषहरु नै हुन्छन् भन्ने सोच समाजमा व्याप्त रहेकाले महिला हिंसा विरुद्ध अब पुरुषहरु पनि एकजुट भएर लागेका छन् भन्ने सन्देश महिलाहरुमा दिनका लागि पनि नै पुरुष पदयात्रा निकालिएको युवालयका सदस्य जयाकुमार साहले बताए ।


साहले भने, ‘महिला हिंसा विरुद्ध वा अरु कुनै पनि महिला सम्बन्धि कार्यक्रममा सहभागिता प्राय महिलाहरुकै हुन्छ , कार्यक्रम पनि उनीहरुमा नै केन्द्रित हुन्छन्,’ साहले भने ,‘ तर महिला माथि हिंसा गर्ने पुरुष हुन्छन् , त्यसैले अब पुरुषहरु पनि महिला हिंसा विरुद्धको अभियानमा अगाडि बढिसकेका छन् भन्ने सन्देश महिलाहरुमा पुगोस् भनेर पदयात्रामा पुरुषहरुलाई मात्र सहभागी गराइएको हो ।

कोणसभामा बोल्दै वीरगन्ज महानगरपालिकाको सामाजिक विकास महाशाखाका प्रमुख अरुणकुमार महत्तोले महिलामा हुने हिंसा , विभेदीकरण र अवसरबाट बञ्चितीकरण अन्त्य गर्नका लागि पुरुष पदयात्राले केहि मात्रामा भए पनि सहयोगीको भूमीका खेलेको बताए ।

’यस्ता अभियानहरु शहरमुखी मात्र नभइ जिल्लका हरेक स्थानीय तहमा पनि सञ्चालन गरिनु पर्छ’, उनले भने ,‘ अनि मात्र यो अभियान अझ फलायी र उपलब्धीमुलक हुन्छ ।’

नागरिक मन्चका अध्यक्ष ओमप्रकाश सर्राफले आधा आकाश ओगटेका नारी शक्तिलाई आत्मनिर्भर बनाउनुका साथै उनीहरुको सम्मान गर्न सके मात्र मुलुक पनि समृद्ध बन्ने बताए ।

उनले भने ,‘ हरेक पुरुषले आफनो घरबाटै महिलाको सम्मान गर्न सुरु गर्नु पर्छ, अनि मात्र महिला हिंसाका घटनामा कमी आउँछन् ।’

दिव्य युवा क्लबका कार्यकारी निर्देशक रमाकान्त पटेलको अध्यक्षतामा भएको पुरुष पदयात्रा र कोणसभामा पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराई, प्रहरी नायव उपरीक्षक मानबहादुर राई, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौलागाइ, वीरगन्ज महानगरपालिकाका कर्मचारी मुकेश गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्काका साथै विभिन्न कलेजका छात्र, सरकारी तथा गैरसरकारी संघसंस्थाका पुरुष कर्मचारी, प्रतिनिधी मात्रको सहभागिता थियो ।

कोणसभापछि घण्टाघर चोकमा महिला हिंसा विरुद्धको जनचेतनामुलक सडक नाटक प्रदर्शन पनि गरिएको थियो ।

प्रतिकृया दिनुहोस