राष्ट्रिय जनमुक्ति पार्टीका सह-अध्यक्षसहित आधाभन्दा बढी पदाधिकारी राजपामा प्रवेश गर्दै

Rjp

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका सहअध्यक्षसहित विभिन्न नेता तथा कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा प्रवेश गर्न लागेका छन् ।

केपी पालुङ्वा नेतृत्वको यो पार्टीका आधाभन्दा बढी व्यक्ति राजपा नेपालमा प्रवेश गर्न लागेका हुन् ।

सो पार्टीका सहअध्यष मानध्वज ब्लोनले भने, ‘यो पार्टी प्रवेश होइन, यसलाई पार्टी एकता नै भन्नुस् । एकजनाको केन्द्रीय समितिमध्ये पचासजना एकीकरणको पक्षमा छन् । २५ जना पदाधिकारीमध्ये १५ जना एकीकरणको पक्षमा छन् ।’

एघारौं राष्ट्रिय सम्मेलनले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकीकरण गर्ने निर्णय भएको थियो ।

त्यसपछि बसेको संघीय परिषद् (केन्द्रीय) समितिको बैठकले राजपा नेपालसँग एकीकरण गर्ने सहमति पनि भएको थियो ।

तर निर्णय भएको थिएन, निर्णय गराउन पटक–पटक बैठकको माग गर्दा पनि अध्यक्षले नबसाएको दावी गर्दै ब्लोनले नौ महिनादेखि संघीय परिषद्को बैठक बस्न सकिरहेको छैन त्यही भएर बहुमत साथीहरु मिलेर राजपा नेपालसँग एकीकरण गर्न लागेको बताए ।

तर, पार्टीका अध्यक्ष केपी पालुङ्वाले आफू शोकमा रहेको बेला केही नेताले हतार गरेको बताए । ‘पार्टी एकीकरण, सहकार्य तथा एकताका लागि फोरम नेपाल र राजपा नेपालसँग वार्ता चलिरहेको थियो । तर उनीहरु हतार गरेर सो पार्टीमा प्रवेश गर्न लाग्नु भएको हो ।’

उनीहरु पटक–पटक पार्टी परिवर्तन गर्नेमध्येका रहेको आरोप लगाउँदै उनले उनीहरुको आदतलाई सुधार गर्न नसकिएको टिप्पणी गरे ।

राजपा नेपालका महासचिव केशव झाले अहिलेलाई पार्टीमा प्रवेश नै हो पछि छलफल गरेर एकताबारे छलफल हुने बताए । पार्टी प्रवेश कार्यक्रम गँगुवामा राखिएको छ ।

जनकपुरमा रहेका राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरु यही कार्यक्रमका लागि आउन लागेको बताइएको छ ।

०४७ वैशाख २३ गते राष्ट्रिय जनमुक्ति मोर्चाको नामबाट यो पार्टीको जन्म भएको थियो । राष्ट्रिय जनमुक्ति मोर्चाबाट नै ०४८ सालको संसदीय चुनावमा मान्छे चुनाव चिन्ह भाग लिएको थियो । ०४८ मा राष्ट्रिय जन पार्टीसँग एकीकरण गरी राष्ट्रिय जनमुक्ति पार्टी बनेको थियो ।

०५१ सालको मध्यावधी चुनाव, ०५६ को संसदीय चुनाव र ०६४ को संविधान सभाको चुनावमा घर चुनाव चिन्ह लिएर भाग लिएको थियो तर एउटा पनि सीट जितेका थिएन ।

०७० मा भएको दोस्रो संविधानसभा चुनावमा समानुपातिकमा २ सिट मात्र ल्याउन सफल एको थियो ।

२०७४ मा भएको तीन तहको चुनावमा एउटा पनि जित्न सकेको छैन ।

प्रतिकृया दिनुहोस