पाठक घुस प्रकरणमा जोडिएका प्रत्येकसँग बयान लिने : अख्तियार

Adalat

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने भएको छ ।

अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिन लागेको हो ।

बिहीबार आयोगले पाठकलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग बयान लिने भएको छ ।

राजपा नेपालका नेता ज्ञानेन्द्र झाले लम्बोदरको ७८ लाख रुपैयाँ पाठकलाई बुझाएका थिए । अस्ट्रेलियामा स्थायी बसोबासको अनुमति (पीआर) पाएका लम्बोदर र अर्का सञ्चालक दीपक भट्टराईबीच इन्जिनियरिङ कलेजको स्वामित्वका विषयमा विवाद छ ।

न्यौपाने पक्षले इन्जिनियरिङ कलेजलाई निजी भन्दै आएको छ भने भट्टराई पक्षले समुदायबाट सञ्चालित गैरमुनाफामूलक भएको बताउँदै आएको छ ।

विगत दुई वर्षदेखि भट्टराई पक्षले लम्बोदर पक्षलाई कलेजमा प्रवेश गर्न दिएको छैन । उक्त विवाद मिलाउन लम्बोदर राजपा नेतामार्फत तत्कालीन आयुक्त पाठककहाँ पुगेका थिए ।

पाठक प्रकरणमा अख्तियारले उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश, अखिल क्रान्तिकारीका नेता कैलाश मगर, महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहलगायतसँग बयान लिन लागेको छ ।

त्यस्तै अख्तियारले राजपा नेता झासँग १५ लाख लिने राजनारायणका भाइ शुभनारायणसँग बयान लिँदैछ। पाँच वर्षअघि शुभनारायणले छोरी पढाउन भनेर झासँग १५ लाख लिएका थिए ।

उनले त्यो रकम अहिलेसम्म फिर्ता गरेका छैनन् । अख्तियारले पाठकको भिडियो बनाउने नेकपाका कार्यकर्ता ध्वजमान मोक्तानसँग बयान लिनेछ। राजपा नेता झा र मोक्तानले भिडियो बनाएर पाठकको कर्तुत बाहिर ल्याएका थिए। अहिले मोक्तान भारतमा छन् ।

पाठकको घुस प्रकरणको अडियो–भिडियो झा र मोक्तानले सार्वजनिक गरेका थिए। शुभनारायणले लम्बोदर र झालाई आयुक्त पाठकसम्म पुर्याएका थिए । घुस विवाद मुछिएका शुभनारायण पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन हुन् ।

यसैगरी अख्तियारले महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहसँग पनि बयान लिने भएको छ । पाठकले भिडियो खिच्ने झा र मोक्तानलाई भिडियो डिलेट गराउन एसएसपी सिंह र उपराष्ट्रपतिका छोरा दीपेशको साथ लिन खोजेको पाइएको छ ।

घुस लिएर पनि काम नगरेपछि पाठकले घुस स्वीकारेको भिडियो–अडियो डिलिट गराउन एएसपी सिंह र पुनलाई प्रयोग गरेको अख्तियार स्रोतको दाबी छ ।

दीपेशकहाँ पाठकको घुस प्रकरणको विषय पुगेपछि उनी आफैंले भिडियो खिच्ने झा र मोक्तानसँग कुराकानी गरेका थिए । तर कुरा ननमिलेपछि पुनले उनीहरूसँग थप कुरा गर्न कैलाश मगरलाई पठाएका थिए ।

‘पाठक घुस प्रकरणमा जोडिएका प्रत्येकसँग बयान लिइनेछ,’ अख्तियार स्रोतले भन्यो । अख्तियारले राजनारायणलाई ७८ लाख बुझाउने राजपा नेता झासँग विगत तीन दिनदेखि बयान लिइरहेको छ । ‘मेरो बयान अझै सकिएको छैन’, झाले भने ।

पाठक प्रकरणमा बयान लिन धेरै समय लाग्ने देखिएको छ । सबैसँग बयान लिएपछि मात्रै आयोग परिणाम सार्वजनिक गर्ने तयारीमा छ ।

प्रतिकृया दिनुहोस