टीकापुर घटना : सजाय तोकिएकै दिन १२ जना रिहा हुँदै

Adalat kailai

धनगढी । टीकापुर हत्या घटनाको मुद्दामा जिल्ला अदालत कैलालीको फैसलापछि ११ जना बुधबार नै रिहा हुँदैछन् ।

फैसलामा तोकिएको ३ वर्ष अवधिको कैद जरिवाना यसअघि नै पुगिसकेकाले कारागारको कागजी प्रक्रियापछि बुधबार अपराह्न उनीहरु रिहा हुन लागेका हुन् ।

पुर्पक्षका लागि थुनामा रहेका लक्ष्मण थारु, लाहुराम चौधरी, राजकुमार कठरिया, सन्तराम चौधरी, जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संतोष थारु चौधरी, विश्राम चौधरी र रामप्रसाद चौधरीसमेत ११ जना छुट्ने छन् ।

६ महिना कैद तोकिएका करन चौधरी पनि रिहा हुँदैछन् । ३ वर्ष सजाय तोकिएका चुन्नीराम चौधरी भने यही फागुन ३० गते छुट्ने छन् ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरु बलराम विष्ट र केशव बोहोरा, प्रहरी हवल्दारहरु श्यामबहादुर खड्का, जनक नेगी तथा प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका हवल्दार ललित साउँद र राम विहारी थारूलाई थरूहट थारुवान पक्षधर आन्दोलनकारीहरुले नियन्त्रण लिइ धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा मुद्दा चलेको थियो ।

सोही घटनामा टीकापुर नगरपालिका-९ स्थित घरमै खेलिरहेको अवस्थामा सशस्त्र प्रहरीका हवल्दार नेत्रबहादुर साउदका २ वर्षीय छोरा टेकेन्द्र साउदको गोली प्रहार गरी हत्या गरिएको थियो ।

प्रतिवादीहरुका तर्फबाट विभिन्न प्रतिवादीहरुका लागि अधिवक्ताहरुले बेग्लाबेग्लै बहस गरेका थिए । वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, पूर्वमहान्यायधिवक्ता हरि फुयाल र अधिवक्ता दीनमणि पोख्रेलले रेशम चौधरीका लागि मात्रै बहस गरेका छन् ।

यस्तै दीनमणि पोखरेले रेशमसहित प्रतिवादीहरु लाहुराम चौधरी र लक्ष्मण थारुका पक्षमासमेत बहस गरेका हुन् ।

कैलालीका अधिवक्ताहरु गंगाराम पाध्याय, गजेन्द्र केसी, गम्भीरसिंह ऐर, वीरबहादुर जेठारा, नाथुराम महता र जुहारीलाल चौधरीले रेशमसहित सबै २७ जना प्रतिवादीको पक्षमा बहस गरेको अधिवक्ता गंगाराम पाध्यायले बताए ।

वादीहरुको पक्षमा भने जिल्ला न्यायधिवक्ता विष्णुप्रसाद पौडेलले बहस गरेका हुन् ।

प्रतिकृया दिनुहोस