टिकापुर घटना : रेशम चौधरीलाई जन्मकैदको फैसला, के होला त सांसदको पद ?

Resham chaudhari 1

धनगढी । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । कैलालीको टीकपुरमा ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको छ ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको इन्द्रबहादुर कठायतले बताए । यो घटनामा ३ जना अभियुक्तले सफाइ पाएका छन् । टीकापुर हत्याकाण्डपछि पक्राउ परेर हाल थुनामा रहेका १२ जनालाई २ देखि ३ वर्षसम्म कैद सजाय भएको छ ।

उनीहरु हाल कैलाली कारागरामै कैद भुक्तान गरिरहेका छन् । उनीहरुले अदालतबाट तोकिए बमोजिमको सजाय भुक्तान गरिसकेकाले रिहा हुने भएका छन् । टीकापुर हत्याकाण्डमा प्रहरीले ५८ जनाविरुद्ध कर्तव्य ज्यान, डाका चोरी र ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो । ५८ जनामा २७ जना पक्राउ परिसकेका छन् । रेशमले भने अदालतमा पुगेर आत्मसर्मपण गरेका थिए । यो हत्याकाण्डमा संलग्न भनिएका ३१ जना अझै फरार रहेका छन् ।

स‌ंविधान निर्माण चलिरहेका बेला सुदूपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको नाममा आन्दोलन चर्किरहेको थियो । अर्कातिर त्यहाँका थारु समुदायले सुदूरपश्चिम तराईका कैलाली र कञ्चनपुर मिलाएर थरुहट प्रदेश बनाउन भन्दै आन्दोलन चर्काएका थिए ।

आन्दोलन चलिरहेका बेला थारु समुदायले कैलालीको टीकापुरस्थित सरकारी कार्यालयमा थारुवान प्रदेशको बोर्ड टाँस्न खोजेका थिए । त्यही क्रममा बोर्ड टाँस्न खोज्ने थारु समुदाय र अखण्ड सुदूरपश्चिम पक्षधरबीच तनाव चुलिइरहेका बेला २०७२ साल भदौ ७ गते टीकापुरमा ८ जनाको सामूहिक हत्या भएको थियो ।

त्यही क्रममा एसएसपी न्यौपानेसहित आठजना र एकजना दुधे बालकको आन्दोलनकारीले हत्या गरे । यो प्रकरणका मुख्य योजनाकार रेशम चौधरी रहेको खुलेसँगै उनी फरार भए । उनी लामो समय भारतमा लुकेर बसेका थिए । लामो समय भारतमा लुकेर बसेका उनी कैलाली १ बाट प्रतिनिधि सभामा विजयी भएसँगै आत्मसमर्पण गरेर हाल डिल्ली बजार कारागारमा छन् । उनले सांसद पदको सपथ पनि खाइसकेका छन् ।

आत्समर्पण गरेसँगै उनले कैलाली कारागारमै सांसद पदमा सपथ खुवाउनुपर्ने माग गर्दै अनशन बसे । अनशनकै क्रममा बिरामी परेपछि रेशमलाई काठमाडौँ ल्याइयो । काठमाडौँ ल्याएपछि उनलाई सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको शपथ खुवाए । सपथ खुवाएपछि उनले प्रतिनिधि सभामा बस्न नदिइ जेल नै पठाइयो ।

प्रतिकृया दिनुहोस