टीकापुर घटना प्रकरण : सरकारलाई दिएको समर्थन फिर्ता गरी राजपा आन्दोलनमा उत्रिने

Rjp

काठमाडौँ । टीकापुर हत्याकाण्डको अभियोग लागेका आफ्ना सांसद रेशमलाल चौधरीलाई जन्मकैद सजायको फैसला आएपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिने भएको छ ।

हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला कैलाली जिल्ला अदालतले सुनाएपछि राजपाले त्यस्तो निर्णय गर्ने तयारी गरेको हो । त्यसका लागि राजपाले बबरमहलस्थित पार्टी कार्यालयमा बुधबार आकस्मिक बैठक बोलाएको छ ।

राजपाका महासचिव केशव झाले आफ्ना सांसद चौधरीको मामिलामा विभेदयुक्त निर्णय भएको र त्यसबाट न्यायलय नै विभेदको चंङ्गुलमा फसेको आरोप लगाए ।

उनले देशसञ्चारसँग भने,‘प्रमाण मिचेर अनुचित निर्णय गरिएको छ अदालतबाट । यो भावनात्मक निर्णय गरिएको छ जुन हामीलाई मान्य हुने छैन ।

अव हामी सरकारलाई दिएको समर्थन फिर्ता गरी उसकाविरुद्ध आन्दोलनमा होमिन्छौ ।’ महासचिव झाले सरकारबिरुद्धको आन्दोलनको विकल्प नभएको बताए ।

कैलाली जिल्ला अदालतले लक्ष्मण चाधरी, लाहुराम चौधरी लगायतलाई तीन वर्ष कैदको फैसला समेत सुनाएको थियो ।

तर घटनामा संलग्न भएको अभियोगमा थुनामा रहेका नेता लक्ष्मण थारु सहित १५ जनालाई भने बुधबार रिहा गर्न उसले आदेश दिएको थियो ।

२०७२ भदौ ७ गते टीकापुरमा ८ सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको अभियोग चौधरीलाई लागेको थियो ।

चौधरी २०७४ को प्रतिनिधि सभा चुनावमा कैलाली १ बाट सांसद निर्वाचत भएका थिए ।

प्रतिकृया दिनुहोस