टीकापुर घटना प्रकरण : घटनाको फैसला गर्ने तयारी

Adalat kailai

कैलाली । जिल्ला अदालत कैलालीले टीकापुर घटना मुद्दाको बहस सकिएपछि बुधबार फैसला गर्ने तयारी रहेको अदालतका रजिष्ट्रारले जनाएका छन् ।

दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएपछि फैसलाको तयारी भएको हो । एक बालक सहित ९ जनाको ज्यान जाने गरी २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा सांसद रेशमलाल चौधरीसहित पुर्पक्षका लागि कारागारमा रहेका अन्य २६ जनाको फैसला हुन लागेको हो ।

प्रतिवादीहरुका तर्फबाट अधिवक्ताहरुले बेग्लाबेग्लै बहस गरेका छन् । काठमाडौंबाट आएका वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, पूर्व न्यायधिवक्त हरि फुयाल र अधिवक्ता दिनमणि पोख्रेलले रेशम चौधरीका लागि मात्रै बहस गरेका छन् ।

त्यस्तै दिनमणि पोख्रेलले रेशमसहित प्रतिवादीहरु लाहुराम चौधरी र लक्ष्मण थारुका पक्षमासमेत बहस गरेका छन् ।

कैलालीका अधिवक्ताहरु गंगाराम उपाध्याय, गजेन्द्र केसी, गम्भीरसिंह ऐर, बीरबहादुर जेठारा, नाथुराम महता र जुहारीलाल चौधरीले रेशमसहित सबै २७ जना प्रतिवादीको पक्षमा वहस गरेको अधिवक्ता गंगाराम उपाध्यायले बताए ।

वादीहरुको पक्षमा भने जिल्ला न्यायधिवक्ता विष्णुप्रसाद पौडेलले बहस गरेका हुन् । जिल्ला न्यायधीश पर्शुराम भट्टराईको इजलासमा भएको दुवै पक्षको वहस सकिएकाले बुधबार फैसला हुने सम्भावना रहेको जिल्ला अदालतका रजिष्ट्रार इन्द्र कठायतले बताए ।

घटनामा मुख्य योजनाकार भएको आरोप लागेका रेशम चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

प्रतिकृया दिनुहोस