पोखरामा प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध 

Paraglider

कास्की । बुधबारदेखि पोखरा महानगरपालिकाले प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ ।

पोखराको आकाशमा लगातार प्याराग्लाइडिङ दुर्घटना भएको समयमा पोखरा महानगरपालिकाले बुधबारदेखि कर नतिर्ने कम्पनीलाई उडान गर्न नदिने भएको हो ।

‘बुधबारदेखि सराङकोटबाट हुने उडानमा जस्ले कर तिरेको छैन त्यो कम्पनीलाई रोक लगाइनेछ’, पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापाले भन्नुभयो, ‘करको दायरामा आउनेहरुलाई भने कुनै रोक लगाइने छैन ।’

आर्थिक वर्ष २०७२र०७३ देखि महानगरले तोकेको कर धेरैजसो प्याराग्लाइडिङ कम्पनीहरुले नबुझाएको उनले बताए ।

महानगरले आर्थिक वर्ष २०७२र०७३ र २०७३र०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४र०७५ मा ५० हजार तथा २०७५र०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो ।

आर्थिक वर्ष २०७२र०७३ देखि नै कर नतिरेको उनका भनाइ छ । उहाँका अनुसार अहिलेसम्म एउटा मात्र कम्पनीले मात्र कर तिरेको छ ।

गण्डकी प्रदेश सरकारले पनि प्याराग्लाइडिङ कम्पनीलाई करको दायरामा ल्याउने भन्दै वार्षिक एक लाख रुपैयाँ शुल्क कायम गरेको र त्यो कर पनि पोखरा महानगरमै बुझाउनुपर्नेछ । तर त्यो कर पनि नबुझाएको उनले बताए ।

प्रदेश र स्थानीय सरकार दुवैले तोकेको शुल्कको रकम वार्षिक एक लाख २५ हजार हुन्छ । तर आफूहरु दोहोरो शुल्कमा परेको भन्दै व्यवसायीहरुले कर तिर्न आनाकानी गर्दै आइरहेका छन् ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ्ग संघ (नेफा) का महासचिव शैलेन्द्र रावतले शुल्क बढी भएकोले सहमतिमा गर्ने कुरामा तालमेल नमिलेको बताए ।

‘हामीले सरकारले तोकेको शुल्क नतिर्ने भनेका छैनौँ, तर न्यायोचित हुनुर्पयो भन्दा उनीहरुले मानेका छैनन्’, उनले भने ।

‘भोलिदेखि सम्पूर्ण उडान बन्द गर्ने भन्ने महानगरको निर्णयमा हाम्रो समितिको बैठक बस्दैछ । त्यसमा कसरी अगाडि बढ्ने निर्णय हुनेछ’, उनले भने ।

पोखरामा प्याराग्लाइडिङ उडाउने ५६ वटा कम्पनी छन् । तीमध्ये ४० को हाराहारीमा मात्रै सक्रिय रहेका छन् । एउटा बाहेक कुनै पनि कम्पनी महानगरमा दर्ता नभएको पनि महानगरले जनाएको छ ।

जिल्ला प्रहरी, जिल्ला प्रशासनलाई पनि बोधार्थ बुझाएर प्याराग्लाइडिङ उडान रोक्न लागिएको वडाध्यक्ष थापाले बताए ।

यतिबेला पोखरामा ‘२०१९ हिमालयन कप’ भन्ने प्याराग्लाइडिङको प्रतियोगिता भइरहेको छ ।

यो प्रतियोगितामा भाग लिन रुसलगायत विभिन्न देशका करिब ३ सय पाइलटहरु पोखरामा छन् । उनीहरुले हवाइ उड्डयन कार्यालयबाट उडानको स्वीकृति त लिएका छन् तर प्रतियोगिताबारे भने हवाइ उड्डयन कार्यालय नै बेखबर छ ।

हवाइ खेलकुद संस्था नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघ (नेफा) का केही आधिकारिक व्यक्तिहरुको मिलेमतोमा रुसका नागरिकले योे प्रतियोगिता आयोजना गरेको बताइएको छ ।

२५ युरो प्रवेश शुल्क लिएर आयोजना गरिएको भनिए पनि यो प्रतियोगितामा सहभागीहरुसँग मोटो रकम असुल गरिएको समेत खबर बाहिर आएको छ ।

प्रतिकृया दिनुहोस