अवैध हतियारसहित विप्लव समूहका नेता पक्राउ

Pakrau 11

सुनसरी । नेक्रवित्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता हतियारसहित पक्राउ परेका छन् ।

नेकपा कोसी ब्युरो सदस्य तथा धनकुटा र मोरङ देवकुमार लिम्बूमाथि म्याद थप गरी प्रहरीले अनुसन्धानसमेत थालेको छ ।

प्लाइउडको बाकसमा राखेको अवस्थामा अमेरिकामा बनेको एम १६ र एलएमजी फेला परेको थियो । लिम्बूलाई धरानको पानबारी र मोरङको सीमामा पर्ने चोक्टीबाट प्रहरीले ३ दिनअघि पक्राउ गरेको थियो ।

एम १६ र एलएमजी नेपाली सेनाले चलाउने गरेको छ । प्रहरीले जिल्ला अदालतमा ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको एसपी राजन अधिकारीले बताए ।

उनले भने, ‘अनुसन्धान गरिरहेका छौं । द्वन्द्वकालीन अवस्थामा समायोजन नभएका हतियार वा नयाँ हुन्, पत्ता लगाउँदै छौं ।’

नाम नखुलेका अर्का एकजना भने फरार भएका थिए । मुख्य सडकबाट नगाई उनीहरू प्रहरी चेकजाँच कम हुने माथिल्लो पानबारी हुँदै मोरङको याङशीला–केराबारी हुँदै लेटाङ वा मधुमल्ला निस्कने तयारीमा थिए ।

धरानका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार हतियार बरामदको विषयमा माथिल्लो तहबाटै अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका लिम्बूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ अन्तर्गत हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

संघीय प्रहरी एकाइ कार्यालय प्रमुख एसएसपी शरद खत्री र सेनाका उच्च पदाधिकारीले लिम्बूको साथबाट बरामद भएको एलएमजी र एम १६ द्वन्द्वकालकै भएको अनुमान गरेका छन् ।

नेपाली सेनाको प्राविधिक टोलीले दुवै हतियारको कोड, च्यासिस र इन्जिन नम्बर टिपेर अनुसन्धानका लागि लगेको छ । प्रहरीका अनुसार यी हतियार चालु अवस्थाका छन् ।

एसपी राजन अधिकारीले बरामद हतियार द्वन्द्वकालको होरहोइन भन्ने थप अनुसन्धान भइरहेको बताए । ‘हतियार कहाँबाट ल्याएको हो ? कसको अभिलेखमा थियो ? कसरी आइपुग्यो भनेर अनुसन्धान भइरहेको छ,’ उनले भने ।

हतियार अनुसन्धानबारे काठमाडौंबाट डीएसपीको कमान्डमा आएको आतंकवाद र सशस्त्र समूहलाई हेर्ने विशेष ब्युरोले धरान आएर अनुसन्धान गरिरहेको छ ।

लिम्बू द्वन्द्वकालमा माओवादी धनकुटा इन्चार्ज थिए । उनी सेना समायोजन हुँदा ‘गोल्डेन हेन्डसेक’ लिएर तत्कालीन माओवादीमै थिए । पछि चन्द नेतृत्वको माओवादीमा प्रवेश गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस