राष्ट्रपति र प्रधानमन्त्रीबाट अन्तिम श्रद्धाञ्जली, गृहनगर पोखरा लगेर पुनः श्रद्धाञ्जलीका लागि राखिने

Xxxxxx

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ३८ मिनेट ढिला गरी र प्रधानमन्त्री केपी शर्मा ओली ३० मिनेटपछि मात्र श्रद्धाञ्जलीका लागि टुँडिखेल पुगेपछि कार्यक्रममा ढिलाइ भएको छ ।

राष्ट्रपति भण्डारीले पहिलो श्रद्धाञ्जली दिएकी छिन् । त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुन र त्यसपछि प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

बुधबार दिउँसो ताप्लेजुङमा भएको डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जली दिनका लागि राजधानीको टुँडिखेलमा पार्थिक शरीर राखिएको छ । 

क्रमिक रुपमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ,  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरण निर्देशक ध्रुब भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेलाई राखिएको छ ।

बिहान ८ बजे नै शव ल्याइए पनि ढिलाइ भएको हो ।  विभिन्न दलका शीर्ष नेताहरु समेत श्रद्धाञ्जली  दिन टुँडिखेल पुगेका छन् । 

ढिला गरी सकिएको थियो शव परीक्षण: बुधबार भएको घटना भए पनि घटनास्थलबाट शव संकलन र काठमाडौं ल्याउन नै समस्या भएको थियो । सातै शव बिहीबार दिउँसो मात्र काठमाडौं ल्याउन सम्भव भएको थियो । त्यसपछि पोष्टमार्टम गर्न अझै बढी समस्या भयो ।

मन्त्री अधिकारीसहित चार जनाको शव पहिचान भए पनि बाँकी तीन जनाको शव पहिचानमा समस्या भएको थियो ।  त्यसकारणले शवको डीएनए परीक्षण गर्दा समय लाग्यो । बिहीबार दिउँसो २ः३० देखि निरन्तर परीक्षण गरिरहेका चिकित्सकले राति १ः३० बजेमात्र परीक्षण सकेका थिए ।

सामूहिक श्रद्धाञ्जलीपछि शव आफन्तलाई : ११ बजेसम्म सातै शवलाई सामूहिक राखेर श्रद्धाञ्जली दिएपछि आफन्तहरुलाई बुझाइने छ । मन्त्री अधिकारीको शव भने गृहनगर कास्कीको पोखरा लगेर पुनः श्रद्धाञ्जलीका लागि राखिने छ । 

त्यसपछि मात्र राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्तिम संस्कार गरिने छ ।  यति र तारा एयरलाइन्सले आफ्ना सबै उडान शुक्रबार नउडाउने जनाएको छ । 

प्रतिकृया दिनुहोस