शेर्पाको निधनले सोलुखुम्बु स्तब्धः यस्तो थियो व्यवसायिक यात्रा

Angtshiring

काठमाडौं ।  बुधबार ताप्लेजुङमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको समेत निधन भएको छ ।

सोलुखुम्बुको मात्र नभई देशकै खम्बाको रुपमा रहेका पर्यटन व्यवसायी शेर्पाको निधनले सोलुखुम्बु स्तब्ध बनेको छ । सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका–१ मा जन्मेका शेर्पा पर्यटन क्षेत्रको एक सफल व्यवसायी थिए । उनको निधनले समग्र जिल्ला र देशकै पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रतिनिधिसभा सदस्य हेमकुमार राईले दुःख व्यक्त गरेका छन् ।

“परिवार नै पर्यटन क्षेत्रमा भएका कारण उहाँको योगदान सोलुखुम्बुले कहिल्यै भुल्दैन”, राईले भने, “जिल्लाको समग्र पर्यटन प्रर्वद्धन गर्ने सन्दर्भमा महत्वपूर्ण योजना निर्माण गरेका थियौँ, शेर्पाका लागि त्यो योजना मै सिमित भयो ।” यति एयरलाइन्सका अध्यक्षसमेत रहेका शेर्पाले खुम्बुको लुक्लासम्म सडक पु¥याउन निकै प्रयास गर्दै आएका थिए । “यस वर्षनै उहाँले दिलो ज्यान दिएर लुक्लासम्म सडक पु¥याउने भनेर लाग्नुभएको थियो ”, सांसद राईले भने, “उहाँको त्यो सपनालाई हामी पूरा गरेर छाड्छौँ ।”

ताप्लेजुङको फुङलिङ नगरपालिका–१० दारेभिरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना हुँदा पर्यटन व्यवसायी शेर्पासहित सात जनाको ज्यान गएको छ । दुर्घटनामा मुलुकले ठूलो नोक्सानी बेहोर्नुपरेकामा सोलुखुम्बु स्तब्ध छ । विभिन्न कम्पनी सञ्चालन गरेर सयौँ व्यक्तिलाई रोजगारी दिएका शेर्पाको मृत्युको खबर सुनेपछि सोलुवासी स्तब्ध भएका छन् ।

पर्यटनसँग आङछिरिङको सम्बन्ध

आङछिरिङ चर्चित सगरमाथा आरोही स्व पासाङल्हामु शेर्पाका साँहिला देवर हुन् । भाउजुले सगरमाथा आरोहण गर्दा आङछिरिङ ट्रेकिङ व्यवसायमा जेडिएका थिए । गाउँबाट भरिया बन्न काठमाडाैँ आएका शेर्पाको चार दशकको यात्राले पर्यटन क्षेत्रमा सिङ्गो देशलाई नै महत्वपूर्ण फाइदा पुगेको थियो ।

हिमाली पर्यटन व्यवसायमा लागेका आङछिरिङ २० वर्षको छोटो अवधिमा यति एयरलाइन्स, तारा एयरलाइन्स र हिमालय एयरको मालिक बन्न सफल भए ।

काठमाडाँैको गोकर्ण रिसोर्ट, भैरहवाको कसरा रिसोर्ट, सोलुखुम्बुको यति होमलगायत सुविधा सम्पन्न होटल र रिसोर्टमा उनको लगानी छ । सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्वर्गीय पासाङल्हामु आङछिरिङकी माइली भाउजु हुन् ।

उनको सगरमाथा आरोहण गरेर फर्कने क्रममा ज्यान गएको थियो । उनका भाइ टेण्डि शेर्पाको पनि २०५५ सालमा सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका स्थित अँधेरीखोलामा हेलिकोप्टर दुर्घटनामै परेर ज्यान गएको थियो ।

एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथाको प्रथमपटक आरोहणपछि खुम्बु क्षेत्रमा बाह्य पर्यटकको चहलपहल शुरु भएको हो । त्यही अवसरमा आङछिरिङको परिवार पनि बाह्य पर्यटकलाई घुमाउँदै पर्यटन व्यवसायमा लागेको बताइन्छ ।

आफ्नै दिदीको ट्रेकिङ कम्पनीबाट शेर्पाले भरिया काम शुरु गर्नुभएको हो । परिवारनै पर्यटन क्षेत्रमा संलग्न रही देशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका आङछिरिङका जेठा दाजुको पहिले नै निधन भइसकेको छ । अरु तीन दाजुभाइ पनि पर्यटन व्यवसायमा संलग्न छन् ।

आङछिरिङ २० वर्षमै देशको नमूना हवाईजहाज कम्पनीको रुपमा लिइने यति एअरका प्रबन्ध निर्देशक थिए । तारा एअर उनकै समूहको हो भने तेह्रथुम दुर्घटनामा परेको एअर डाइनेष्टी हेलिकोप्टरमा पनि उनको समूहको ठूलो शेयर छ । पछिल्लो समयम उदाएको हिमालय एअर उनकै समूहको हो ।

पर्यटन व्यवसायी हिमाल केसीले भने, “हामी आङछिरिङ दाईको त्यो हौसला कहिल्यै बिर्सदैनाैँ, हाम्रो लागि फागुन १५ गते कालो दिन भयो ।” आङछिरिङलाई नजिकबाट चिन्ने व्यक्ति मध्येका एक लुक्लाका विजय तामाङ शेर्पा उच्च ओहदाका व्यक्तिलाई मात्र नभई सामान्य व्यक्तिका लागिसमेत सहयोगी र विकासप्रेमी हुनुहुन्थ्यो ।

“उहाँमा सकारात्मक सोचाइ थियो, पर्यटकलाई सुरक्षा, प्रशिक्षित गाइड, गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यता उहाँमा थियो”, उनले भने, “धेरै विदेशी उहाँकै कम्पनीबाट खुम्बु भ्रमणमा आउने गरेका थिए ।”

प्रतिकृया दिनुहोस