समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गरिने

Sunuwai joshi final

काठमाडौं । संसदीय सुनुवाइ समितिले संवैधनिक परिषद्बाट मुस्लिम आयोगका अध्यक्ष सिफारिस गरिएका समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ ।

सुनुवाइ समितिमा अन्सारीको प्रवेशिका परिक्षा र प्रमाणपत्र तहको प्रमाणपत्र नक्कली भएको, नागरिकता विवादित रहेको र नेकपाको केन्द्रीय सदस्य रहेको उजुरी परेको थियो । समितिको आज बसेको बैठकले उजुरीकर्तासँग छलफल र छानबिन पछि मात्रै सुनुवाइ गर्ने निर्णय गरेको हो । उजुरीकर्तासँग आजै छलफल गरिएको छ ।

संवैधानिक परिषद्बाट विवादित प्रमाणपत्र र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताबारे मगाउने समितिले जनाएको छ । काठमाडौं ९ ठेगाना रहेका अन्सारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका थिए । पार्टीको सदस्यताबारे निर्वाचन आयोगबाट जानकारी लिने समितिले जनाएको छ ।

गत माघ ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद् बैठकले संविधानमा नयाँ व्यवस्था गरिएका चार समावेशीसहित पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस गरेको थियो ।

 

प्रतिकृया दिनुहोस