पूर्वआयुक्त राजनारायण पाठकमाथि घूस लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले छानबिन गर्ने

Akhtiyar durupayog anusandhan aayog

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकमाथि घूस लिएर भ्रष्टाचार गरेको आरोपमा छानविन अघि बढाउने भएको छ । अख्तियारको प्रारम्भिक दृष्टिकोणमाथि राय दिँदै महान्यायाधिवक्ता कार्यालयले संवैधानिक निकायका पूर्वपदाधिकारीमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न कुनै संवैधानिक र कानुनी अड्चन नहुने राय दिएको छ ।

अख्तियारले पूर्वआयुक्त पाठकमाथि भ्रष्टाचारको छानविन गर्न सकिन्छ भन्ने आफ्नो प्रारम्भिक धारणा तय गर्दै महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो । महान्यायाधिवक्ताले सरकार र सरकारी निकायको कानुनी प्रतिरक्षा गर्नुका साथै आवश्यक परे रायसल्लाह दिने संवैधानिक व्यवस्था छ ।

महान्यायाधिवक्ता कार्यालयबाट राय लिनुअघि सम्बन्धित विषयमा उक्त निकायले आफ्नो धारणासमेत पेस गर्नुपर्छ । अख्तियारको हिजोको बैठकले पाठकमाथि छानविन गर्नेबारे आफ्नो धारणासहित राय माग्ने निर्णय गरेको थियो ।

महान्यायाधिवक्ता अग्नि खरेलले संविधानको धारा २३९ को उपधारा २ मा भएको व्यवस्थालाई उद्धृत गर्दै त्यही प्रावधानका आधारमा पूर्वआयुक्त पाठकमाथि कारबाही अघि बढाउन सकिने राय दिएका छन् ।

प्रतिकृया दिनुहोस