नेपाल एयरलाइन्सले थामखर्क विमानस्थलमा साताको दुई दिन उडान भर्ने

Thamkharka airport

खोटाङ । खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा रहेको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले साताको शनिबार र बुधबार उडान भर्ने भएको छ ।

कालोपत्रे सम्पन्न भएपछि खोटाङको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले हप्ताको दुई दिन उडान भर्ने भएको हो ।

परीक्षण उडान लगत्तै नेपाल एयरलाइन्सले हरेक शनिबार काठमाण्डौ–थामखर्क–काठमाण्डौ तथा बुधबार काठ्माण्डौ–थामखर्क–विराटनगर र विराटनगर–थामखर्क–काठमाण्डौ उडान भर्ने तालिका बनेको थामखर्क विमानस्थलका स्टेशन ईन्चार्ज नरेन्द्र उदासले बताए ।

दुई वर्षभन्दा बढि समय लगाएर कालोपत्रे गरिएको थामखर्क बिमानस्थलमा नियमित उडान हुने भएपछि खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका स्थानीय उत्साहित बनेका छन् ।

विमानस्थल कालोपत्रे भएपछि त्यस क्षेत्रका स्थानीयलाई काठमाण्डौ र विराटनगर पुग्नका लागि सहज हुनेछ ।

बाह्रै महिना उडान नहुने भएका कारण त्यस क्षेत्रका सर्वसाधरणले विरामी भएको समयमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यतामा कमी आउने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए ।

कालोपत्रेका विभिन्न चरणका काम सुरु गरिएसँगै २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क विमानस्थल कालोपत्रे भएपछि गएको माघ २८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका हुन् ।

प्रतिकृया दिनुहोस