विवेकशीलको संवादमा सुनिता दनुवारले सुनाइन् हृदय विदारक करुणा

Samata sambad

काठमाडौं । महिला बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारले मानव बेचविखन विरूद्धको अभियानमा लाग्दा धम्की आइरहेको बताएकी छन् ।

विवेकशील साझा पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले संचालन गरिरहेको ‘समता संवाद शृंखला’ मा दनुवारले ठूला भनिने राजनीतिक दलका कतिपय नेता र पहुँचवाला व्यक्तिहरुले दलाल र बिचौलिया बचाउन अहिले पनि धम्की दिने गरेको बताएकी हुन् ।

शनिबार सम्पन्न सो संवादमा उनले सबैको सहयोगमा मात्रै चेलिबेटी र मानव बचविखन विरुद्धका दलाल, विचौलियाहरुलाई कारवाही गर्न सकिने बताइन् । ‘मन्त्रीहरु, नेताहरु चेलिवेटी बेचविखन गर्ने आफ्ना कार्यकर्तालाई छुटाउन धम्की र पैसाको लालच देखाउने गर्छन्’ उनले भनिन्, ‘तर, म अहिलेसम्म कसैसँग झुकेको छैन र झुक्न पनि झुक्दिनँ ।’

१४ वर्षको उमेरमै बेचिएकी दनुवार उद्धार गरिएपछि महिला बेचबिखनविरुद्ध निरन्तर लागिपरेकी अभियन्ता हुन् । उनी चर्चित अन्तर्रास्ट्रिय पुरस्कारहरु ‘डेमोक्रेसी एण्ड ह्युमन राइट्स’ र ‘ट्राफिकिङ इन पर्सन हिरो’ टिआइपी हिरो २०१८ बिजेता हुन् । दनुवारले बेचिएपछि भोग्नुपरेको दर्दनाक जीवनकथा समेटेर लेखेको पुस्तक ‘आँसुको शक्ति’ हृदयबिदारक छ ।

सो समता संवादमा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले समानता, समावेशिता, सामाजिक न्याय र मानव मर्यादाका विभिन्न पाटाहरुवारे पार्टीले प्राथमिकताका साथ काम गरिरहेको बताए ।

समता संवाद शृंखलामा यसअघि चर्चित पुरस्कार फ्रिडम फ्रम फियर विजेता पूर्वकमलरी उर्मिला चौधरी, प्रभावकारी उत्प्रेरक दृष्टी विहीन श्रृष्टी केसी, वादी महिला आन्दोलनकी संघर्षशील नेतृ उमादेवी वादी लगायतलाई मुख्य बक्ताको रुपमा प्रस्तुत गरिसकेको छ।

प्रतिकृया दिनुहोस