जाजरकोट बस दुर्घटना : मृत्यु भएका ४ मध्ये ३ जनाको सनाखत

Durghatana

जाजरकोट । बिहीबार बेलुका जाजरकोटमा भएको बस दुघर्टनामा परि मृत्यु भएका चार मध्ये तीन जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा डोल्पा जिल्ला जगदुल्ला गाँउपालिका–४ छाँचुका मुनबहादुर बोहरा, बाँके जिल्ला खजुरा–२ का बसका सहयोगी हरिबहादुर रावत र सोही ठाउँका सहचालक सागर भण्डारी रहेको निमित्त जिल्ला प्रहरी प्रमुख केशर कार्कीले बताए । मृतक एक अधबैंसे पुरुषको भने अझै सनाखत हुन सकेको छैन ।

बस दुघर्घटनाका गम्भीर घाइते पश्चिम रुकुम आठबीकोट–१३ का लालबहादुर थापा र आठबीसकोट–११ का भरत चन्दलाई थप उपचारका लागि राती नै नेपालगञ्ज पठाइएको छ ।

जाजरकोट नलगाड–५ कालिमाटीका विवश बोहरालाई शुक्रबार बिहान थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

जाजरकोट अस्पतालमा चार जना र रिम्नामा दुई जनाको उपचार भइरहेको छ । घाइतेको निशुल्क उपचार गरिने प्रजिअ बस्नेतले बताए ।

नेपालगञ्जबाट रुकुमको राडीबजार तर्फ गइरहेको भे १ ख १३२९ नम्बरको यात्रुबाहक बस बिहीबकार राति जाजरकोट भेरी–१ रिम्न स्थित कुइनेउटामा दुर्घटना भएको हो । घाइतेहरुका अनुसार बसको ब्रेक फेल भइ चिप्लिएर दुर्घटन भएको हो ।

जाजरकोट–डोल्पा सडकको खलंगा रिम्न खण्डमा पर्ने यो बाटो कच्ची, साँघुरो हुनुकासाथै धेरै मोड भएकोले दुर्घटना भएको प्रहरीको जनाएको छ । बस निकै थोत्रो भएकाले पनि दुघर्टना भएको प्रहरीको भनाइ छ ।

घटनालगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा घटना स्थल पुगेर घाइतेको उद्धार गरेका थिए ।

घटनास्थल सदरमुकाम खलंगाबाट करिब १५ किलोमिटरको दूरीमा पर्छ ।

 

प्रतिकृया दिनुहोस