अवैध लागुऔषधको बढ्दो तस्करी, तस्कर उम्किए भरिया समातिए

Chares

धादिङ । काठमाडौंबाट भारततर्फ जाँदै गरेको भारतीय कन्टेनरबाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चरेस बरामद गरेको थियो ।

पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडकअन्तर्गत गजुरी–१ घाटबेंसीबाट ३ सय ६० किलो चरेससहित तीन भारतीय माघ २७ मा पक्राउ परे । पक्राउ पर्नेमा चालक ओमप्रकाश, सहचालक मोरपाल बर्मा र गुलाव खान छन् ।

२ सय ३५ किलो चरेससहित पुस १९ मा दुई भारतीय नै गजुरी बजारबाट पक्राउ परे । काठमाठौंबाट भारततर्फ जाँदै गरेको भारतीय कन्टेनरका चालक सत्यन्द्रसिंह वेघल र सहचालक मोहम्मद गद्दी पक्राउ परेका हुन् ।

बेनीघाट रोराङ गाउँपालिका–२ स्थित ओवाङ गाउँबाट ५ सय ७० किलो गाँजा र पाँच नाल बन्दुकसहित मंसिर २९ मा तीन पक्राउ परे ।

पक्राउ पर्नेमा स्थानीय गुञ्जबहादुर घलान, ठूलो कान्छा तामाङ र सानो कान्छा तामाङ छन् । उनीहरू भरिया मात्र हुन् कि तस्करीका मालिक हुन् भनेर प्रहरीले पत्ता लगाउन सकेन ।

यी तीनै घटनामा केही स्थानीय र तस्करी हुँदै गरेको सवारी साधनका चालक र सहचालक मात्र पक्राउ परेका छन् ।

खान भने लामो समयदेखि चरेस ओसारपसारमा संलग्न देखिएको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले बताए । उनका अनुसार चरेस र गाँजासँग भरिया मात्र पक्राउ परिरहेका छन् ।

राजमार्ग आसपासबाट तीन वर्षमा ८ सय १२ किलो गाँजा, १ हजार ४६ किलो चरेस र ५ सय ४७ एम्पुल नुर्फिन, डाइजेपामलगायत बरामद भयो । ९२ जनालाई प्रहरीले पक्राउ गर्यो ।

तर, भरिया र प्रयोगकर्ता मात्र पक्राउ पर्ने र मुख्य कारोबारी उम्कने गरेकाले लागुऔषध तस्करी रोकिएको छैन ।

चरेसको मुख्य कारोबारी पक्राउ गर्न भरियाबाटै अनुसन्धान गरिरहेको प्रहरी अधिकारीको भनाइ छ ।

‘गाँजा खेती हुने ठाउँ पहिचान गरी जनचेतनामूलक कार्यक्रम गर्नेछौं’, एसपी बैदवारले भने, ‘उनीहरूलाई विकल्प दिन स्थानीय तहसँग समन्वय गर्ने योजना छ ।’ नचिनेका व्यक्तिका सामान बोकिदिँदा ठूलै रकम पाउने प्रलोभनमा फसेको अभियुक्त बताउँछन् ।

धादिङका किरान चोक, पीडा, महादेवस्थान, तसर्पुसहित महाभारत र चुरे क्षेत्रका गाउँमा गाँजा खेती हुने गरेको छ ।

गाँजाबाट बनाइने चरेस तस्करी रोक्न प्रहरीले खेती नष्ट गर्ने अभियान पनि चलाएको छ। पाँच वर्षमा ३ हजार १ सय रोपनीभन्दा बढी क्षेत्रफलमा गाँजाका बोट नष्ट गरिएको छ ।

तापनि, तस्करीमा कमी आएको छैन । खाद्य अधिकार जिल्ला सञ्जालका राजेन्द्र बस्नेतले स्थानीय तहले गाँजा खेती गर्नेलाई राम्रो विकल्प दिनुपर्ने बताए ।

‘अवैध हो, कुनै दिन पक्राउ परिन्छ भन्ने थाहा छ’, उनले भने, ‘तर, गाँजा खेतीको विकल्प स्थानीयले पाएका छैनन् ।’

सञ्जालका अनुसार धादिङ र मकवारपुरको सीमा क्षेत्रमा १० हजारभन्दा बढी रोपनीमा यसको खेती हुन्छ । त्यसमा ५ हजार परिवार आबद्ध छन् । २०७३ पुस २७ मा ४० किलो चरेससहित चार जना पक्राउ परेका थिए ।

यस्तै, २०७४ जेठ २३ मा ७० किलो, त्यही वर्ष माघ २१ मा १ सय ६० किलो र चैत २३ मा १ सय ६० किलो चरेस बरामद भएको थियो । यी घटनामा एक–एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस