१८ किलो सुन फेला पारेकै दिन शुक्लाफाँटाबाट थप ५ किलो सुन बरामद

Gold,,

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा प्रहरीले १८ किलो सुन फेला पारेकै दिन शुक्लाफाँटाबाट पनि थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ ।

प्रहरी कै जवान सुरज तिरुवाले पुनर्वास नगरपालिका वडा नं। २ स्थित ससुरालीमा लुकाएर राखेको १८ किलो सुन बिहिबार प्रहरीले बरामद गरेको थियो भने गएराति कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा रहेको सुरजका दाजु लक्ष्मण तिरुवाको घरमा छापा हान्दा थप ५ किलो ६ सय ग्राम सुन बरामद गरिएको कञ्चनपुरमा रहनु भएका प्रहरी उपरीक्षक कुवेर सिंह कडायतले बताएका छन् ।

निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमै रहेको सीआईबी, अपराध महाशाखा, कञ्चनपुर र कैलालीको संयुक्त प्रहरी टोलीले बिहिबार दिउँसो पुनर्वासमा १८ किलो सुन सहित कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरुवा र उनका दाजु लक्ष्मण तिरुवालाई समेत पक्राउ गरिसकेको थियो ।

बरामद गरिएको जम्मा २३ किलो ६ सय ग्राम सुन सहित पक्राउ परेका दाजुभाइ लक्ष्मण तिरुवा र सुरज तिरुवालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको र उनीहरुलाई शुक्रबार नै राजश्व छलि अन्तर्गत मुद्दा चलाई कारबाही अगाडी बढाउने प्रहरी उपरीक्षक कडायतले जानकारी दिए ।

सुन प्रकरणबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस