विद्यार्थी संगठन र प्रशासनबीच झडप, ३ विद्यार्थी घाइते

Fight 33

काठमाडौं । बिहीबार रविभवनस्थित नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेज्मेण्ट (नाथम) मा विद्यार्थी संगठन र प्रशासनबीच संगठन निर्माणको क्रममा झडप भएको छ । उक्त झडपमा परी तीन विद्यार्थी घाइते भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नाथममा होटल व्यवस्थापन, टुरिज्म लगायतको पढाइ हुन्छ ।

बिहीबार कलेजमा पूर्वएमाले निकट अनेरास्ववियु र पूर्वमाओवादी निकट अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा संगठन निर्माण गर्न लागेका थिए ।

संगठन निर्माणको तयारीमा लाग्दै गर्दा कलेज प्रशासनले पूर्व्विद्यार्थी तथा स्थानीय व्यक्तिलाई बोलाएर आफ्ना संगठनमाथि आक्रमण गरेको पूर्वएमाले निकट अनेरास्ववियुकी सचिव सुनिता बरालले जानकारी दिइन् । यसअघि त्यहाँ कुनै पनि विद्यार्थी संगठनले समिति बनाएका थिएनन् ।

बरालका अनुसार कलेज प्रशासनको पक्षमा रहेका व्यक्तिले इँटा तथा ढुंगा हान्दा पूर्वमाओवादी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव डिबी साउद, अखिल (क्रान्तिकारी) कै सचिवालय सचिव नारायण घर्ती तथा अनेरास्ववियुका केन्द्रीय सदस्य सञ्जय दुवाडी घाइते भएका छन् ।

घाइते मध्ये साउदको टाउकोमा चोट लागेको छ । उनको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ। अन्यलाई भने सामान्य चोट लागेको छ ।

कलेजका कार्यकारी निर्देशक दुर्गादत्त ढकालले भने आफूहरुले विद्यार्थीलाई संगठन खोल्न नरोकेको तार संगठन खोल्नुपर्छ भन्ने र खोल्नु हुँदैन भन्ने विद्यार्थीबीच विवाद हुँदा झडप भएको बताए ।

‘झडपका कारण कलेजको पठनपाठन बन्द भएको छ । दुवै पक्षका विद्यार्थीलाई बोलाएर वार्ता गर्ने तयारीमा छौं’ ढकालले भने । कलेजलाई अहिले प्रहरीले सुरक्षा दिइरहेको छ ।

प्रतिकृया दिनुहोस