वडाध्यक्षले गरे मोटरसाइकलको बजेटले दमकल खरिद गर्ने निर्णय

Damkal

काभ्रेपलाञ्चोक । चालू आर्थिक वर्षमा पाँचखाल नगरपालिकाले वडाध्यक्षलाई मोटरसाइकलका लागि छुट्याइएको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको छ । नगर प्रमुख महेश खरेलले कार्यपालिकाले मोटरसाइकलका लागि छुट्याएको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको बताए । उनले भने, “नगरको आवश्यकतालाई प्राथमिकता दिइयो ।”
नगरको चालू आर्थिक वर्षमा रु २१ लाख ७५ हजार वडाध्यक्षका लागि मोटरसाइकल खरीद गर्न बजेट छुट्याइएको थियो । त्यस बजेटमा नगरको समग्र एकीकृत योजनाको केही रकम तथा अन्य खर्च जोगाएर करीब रु ७१ लाखमा दमकल खरीद गरिने नगरप्रमुख खरेलले जानकारी दिए ।
मोटरसाइकलको बजेटले नगरको आवश्यकतालाई प्राथमिकता दिएर दमकल खरीद गर्ने प्रक्रियामा सबै वडाध्यक्षले सहयोग गरेको सात नम्बरका वडाध्यक्ष पुष्कर ढकालले बताए ।
उनले यसअघि पाँचखाल क्षेत्रमा आगलागी हुँदा निकै समस्या झेल्नुपरेको बताए । गतसाल नगर प्रमुखलाई गाडी खरीद गर्न छुट्याइएको रु ४५ लाख तीन वडाका बासिन्दाका लागि खानेपानी व्यवस्थापनमा राखिएको थियो ।

प्रतिकृया दिनुहोस