गौमूल गाउँपालिकामा नून डिपो सञ्चालन

Salt

बाजुरा । जिल्लाको गौमूल गाउँपालिकामा अनुदानको अस्थायी नून डिपो सञ्चालनमा आएको छ ।
गौमूल–३ गर्जेकी बिसु बोहराले भनिन्, “नून लिन एक दिनको पैदल हिँडेर सदरमुकाम मार्तडी जानुपथ्र्यो, रु एक सयको नूनका लागि रु दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता थियो, अब सजिलो भएको छ”,। सोही वडाकी पुनी धामीले भन्नुभयो,“साच्चै सिंहदरबारको अधिकार केही भए पनि गाउँमा आएको आभास भएको छ ।”
हालसम्म गौमूल गाउँपालिकामा एक हजार बढीलाई नून बिक्री वितरण भैसकेको छ । जनतालाई केही सजिलोको लागि नून डिपोसँग समन्वय गरी गाउँपालिकामै डिपो सञ्चालन गरी वितरण गर्ने गरेको गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । अध्यक्ष रोकायाले भन्नुभने, “हामीले नून डिपो त सञ्चालनमा ल्यायौँ, अब नेपाल खाद्य संस्थानको डिपो सञ्चालन गर्न पनि पहल भइरहेको छ ।” गौमूल अस्थायी नून डिपोबाट वार्षिक दुई सय क्वीन्टल नून बिक्री गर्ने गरेको नून डिपो बाजुराका प्रमुख नरबहादुर भाटले जानकारी दिए ।
एक हप्तासम्म मात्र प्रत्येक अस्थायी नून डिपोबाट नून बिक्री वितरण गर्ने गरेको प्रमुख भाटले बताए । गाउँमै नून बिक्री वितरण भएपछि नून लिनेको घुइँचो लाग्ने गरेको हो ।
गौमूल गाउँपालिकालगायत खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकाको धुलाचौरको जुण्डीमा पनि जनतालाई सहज सेवाका लागि अस्थायी नून डिपोबाट भानु आयोडिन नून बिक्री वितरण गर्ने गरिएको बाजुरा डिपो प्रमुख भाटले बताए । हाल बाजुराका सबै अस्थायी डिपो केन्द्रबाट भानु आयोडिन नून नौ रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रतिकृया दिनुहोस