चार करोड मूल्य बराबरको जग्गा दान

Jagga

गलकोट । बडिगाड गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको कायौलय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । गाउँपालिकालाई बासिन्दाले भवन निर्माणका लागि बडिगाड–५ मोहन जिसीसहित ७६ जग्गाधनीले थोरै धेरै गरी सहयोग गरेका छन् । ग्वालीचौरको खारबजारमा मध्यपहाडी लोकमार्गसँग नजिक रहेको झण्डै रु चार करोड बढी मूल्य बराबरको साढे नौ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताए ।
हामीले दाताको जग्गा गाउँपालिकाको नाममा लालपुर्जा कायम गरी लिइसकेका छौँ, अध्यक्ष पाइजाले बताए । प्राप्त भएको जग्गामा गाउँपालिकालाई आवश्यक पर्ने सुविधासम्पन्न भवन निर्माणका लागि प्रदेश र केन्द्र सरकारसमक्ष माग गर्न गाउँपालिकाबाट निर्णय भई कामसमेत अगाडि बढेको छ ।
प्रत्येक जग्गाधनीले रु १३ हजारदेखि आठ लाखसम्मको जग्गा निःशुल्क प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । निःशुल्क प्राप्त भएको जग्गामा बनेका घरको प्रतिघरको रु दुई लाखका दरले घरधनीलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको हो । गाउँपालिकाले कार्यालय सञ्चालनका लागि अहिले मासिक रु ३५ हजार घरभाडा तिर्दै आएको छ ।
लोकमार्ग आसपासको क्षेत्रमा बजारको विकास गर्न र गाउँपालिकालाई स्थायित्व प्रदान गरेर गाउँको विकास गर्न जग्गा प्रदान गरिएको जग्गादाता मोहन जिसीले बताए । गाउँपालिकाको कार्यालय नजिकै रहेको जग्गा खारबजारभित्र पर्दछ । हामीले गाउँकै विकास र समृद्धि चाहेका छौँ, उनले भने, सबै विकासमा राज्यलाई नै पर्खनुपर्ने अवस्था अन्त्य हुनुपर्द । पुरानो खारबजारलाई प्रवद्र्धन गर्नका लागिसमेत जग्गा प्रदान गरेको जग्गादाताले बताए ।
भिन्नाभिन्नै कित्तामा रहेको जग्गा अहिले गाउँपालिकाले एकमुष्ट बनाएर आफ्नो नाममा बनाएको छ । स्थानीय सरकार आफ्नै जग्गाको कार्यालयबाट सेवासुविधा प्रदान गर्दा भाडामा खर्च हुने रकमले गाउँको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाको भवन निर्माण गरेर बाँकी रहेको जग्गामा बहुउद्देश्यीय सभाहल तथा अन्य विषयगत कार्यालय राखिने बताइएको छ ।

प्रतिकृया दिनुहोस