राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने शान्ति निकेतनका खेलाडीलाई खेल सामग्री

Posha bitaran

महेन्द्रनगर । कबर्ड हलमा बुधबारदेखि सुरु हुने भीमदत्त नगरपालिकास्तरीय माध्यमिक विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा सहभागी हुने शान्ति निकेतन माध्यमिक विद्यालयका खेलाडीहरुलाई खेल सामग्री र पोशाक वितरण गरिएको छ ।

भीमदत्त नगरपालिका वडा नं. ६ वडा कार्यालयले सोमबार विद्यालयमा कार्यक्रम गरी भलिबल, नेट सहित खेलाडीका लागि पोशाक प्रदान गरेको छ । भीनपा वडा नं. ६ का अध्यक्ष एवम् भीनपा सामाजिक विकास समितिका सभापति हरकसिह धामी प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा खेल सामग्री सहित पोशाक वितरण गरिएको छ ।

कार्यक्रमका धामीले विद्यालयका प्रधानाध्यापक एवम् कार्यक्रमका सभापति बहादुर चन्दलाई सामग्री हस्तारण गरे । कार्यक्रमका प्रमुख अतिथि धामीले नगर स्तरीय खेलकूद प्रतियोगिताका लागि विद्यालयको आग्रहमा खेल सामग्री र पोशाक सहयोग गरिएको बताए ।

वडा अध्यक्ष धामीले प्रतियोगितामा विजय विद्यालयका सबै विद्यार्थीलाई वडा कार्यालयबाट सम्मान गरिने घोषणा गरेका छन् । नगर स्तरीय प्रतियोगितामा विजयी भएर जिल्ला छनौट प्रदेश स्तरीय खेलकूदमा पुग्ने खेलाडीलाई ट्रयाक सुट सहित सम्मान गरिने उनले बताए ।

भीमदत्त नगरपालिका क्षेत्रका ६२ माध्यमिक विद्यालय सहभागी हुने प्रतियोगितामा शान्ति निकेतनबाट ६० खेलाडी सहभागी हुन लागेका छन् ।

भीमदत्तमा नगर खेलकूद प्रतियोगिता सञ्चालनका लागि नगर प्रमुख सुरेन्द्र विष्ट संरक्षक रहने गरी सामाजिक विकास समितिका सभापति धामीको संयोजकत्वमा मूल समिति गठन गरी तयारी सुरु गरिएको छ ।

गत वर्ष फागुनमा छुट्टाछुट्टै आयोजना नगर स्तरीय माध्यमिक खेलकूद र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यस वर्ष पुस २५ गतेदेखि आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता सञ्चालनका लागि मूलसहित प्राविधिक समिति, फिल्ड व्यवस्थापन समिति, विद्यालय समन्वय समिति गठन गरिएको छ । जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शेर बहादुर चन्दलाई प्राविधिक समितिको जिम्मेवारी दिइएको छ । यसैगरी स्रोत व्यक्ति पन्तको संयोजकत्वमा फिल्ड व्यवस्थापन र उप सचिव जोशीको संयोजकत्वमा विद्यालय समिति गठन गरिएको छ ।

गत वर्ष नगर क्षेत्रका ३९ विद्यालयले भाग लिएका थिए । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो, उसु लगायतका खेल राखिएका छन् ।

प्रतिकृया दिनुहोस