उपत्यकामा पर्‍यो हिउँ, डाँडाकाँडा सेताम्यै

Chandragiri ma hiu

काठमाडौं । सोमबार काठमाडौं आसपासका क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । बिहानैदेखि काठमाडौं उपत्यका आसपासका चन्द्रागिरी, कालिन्चोक, शिवपुरी लगायतका डाँडाहरुमा हिमपात भएको छ । अन्य हिमाली जिल्लामा पनि व्यापक हिमपात भएको छ ।

चन्द्रागिरीमा हिउँ र सूर्यको समागमको दृश्य निकै सुन्दर देखिएको छ । चन्द्रागिरी क्षेत्रमा रहेका डाँडाँपाखा, मन्दिर, बाटो तथा केवलकारसमेत हिँउले सेताम्मे देखिएका छन् । केवलकार चढेर चन्द्रागिरी पुगेकाहरु अकस्मात परेको हिउँले निकै रोमािञ्चत बनेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको चन्द्रागिरी लगायतका स्थानमा हिमपात भएको जनाएको छ । देशभर मौसम बदली हुँदा काठमाडौंसहित कतिपय ठाउँमा वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगहरुमा हिमपात भएको हो । काठमाडौंसहित केही ठाउँहरुमा दिनभर पानी पर्ने छ । पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको मौसमविद्को भनाइ छ ।

यता, मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सिमभञ्याङ क्षेत्रमा हिमपात भएको छ । खेल्न मिल्नेगरी सिमभन्ज्याङ, दामनमा हिउँ परेको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपलिकाको दामन क्षेत्रमा प्रत्येक वर्षए हिमपात हुने गरेको छ ।थानकोट, नौबिसे हुँदै त्रिभुवन राजथबाट ७५ किलोमिटर दूरी पार गरेर तीन घण्टामै दामन पुग्न सकिन्छ ।

आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।

केही दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि अझै निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनस झरेको छ ।

आइतबार रातिदेखि निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा जाडो निकै बढेको छ । यो वर्ष दोस्रो पटक परेको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको छ ।

 

प्रतिकृया दिनुहोस