नयाँ प्रविधिको विकास : नेपालमै पहिलोपटक पानी सोस्ने ब्लक बन्दै

Naya block bandai

काठमाडौं । के तपाईले बाटोमा हिड्दा टेकिने ब्लकले पानी सोच्छ भनेर कहिले कल्पना गर्नुभएको छ ? वा सडक पेटीमा बिच्छ्याइएका टायलका ब्लकले कहिले पनि पानी सोच्दैन भन्ने सोच्नुभएको छ ?

उकहदसम्म तपाईको सोचाई ठीक पनि हुन सक्छ । तर, अब नेपालमा यस्तो प्रविधिबाट सडकपेटी र कम्पाउण्डमा बिच्छ्याइने ब्लकमा पानी सोच्ने प्रविधि भित्र्याइँदैछ ।

दुई हप्तापछि नेपालमै पहिलोपटक मानिस हिड्ने बाटो छेउको पेटी वा खुला कम्पाउण्डहरुमा छाप्ने पानी सोस्ने ब्लकको उत्पादन हुँदैछ । त्यसका लागि गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिले चीनबाट मेशिन ल्याएर जडान गर्न थालिसकेको छ ।

नेपालमा पानी सोस्ने ब्लक उत्पादन गर्ने यो पहिलो कम्पनी हो । चीनको विभिन्न सहरहरुमा यसको प्रयोग भएका ठाउँहरुको अध्ययनपछि त्यहाँका विशेषज्ञहरुसँग छलफल गरी नेपालको माटो सुहाउँदो यो प्रविधि नेपालमा भित्र्याउन लागेको हो ।

ब्लकमा विशेष प्रकारको केमिकल मिसाई गुणस्तरीय बनाएर पानी सोस्नसक्ने बनाइने छ । ‘यसको माथि मानिस हिड्न तथा हलुका सवारीसाधन गुडाउँदा पनि फुट्ने समस्या हुन्न’ गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर राजन दुवाल भन्छन्, ‘ब्लक ग्राहकको चाहना अनुरुप ३५ टन क्षमता भार वहन गर्न सक्ने मोटाई र स्ट्रेन्ठ (बलियोपन) हुनेछ ।’

‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने नाराका उत्पादन गर्न लागेको यो ब्लक उत्पादनमा कुनै पनि प्रदूषणयुक्त उर्जा प्रयोग नहुने कम्पनीको भनाई छ ।

काठमाडौंका सडकहरुमा कालोपत्रे भई वर्षाको पानी पुनर्भरण हुन नपाउँदा उपत्यकामा वर्षेनी पानीको सतह गहिरिँदै गएको छ । काठमाडौं उपत्यकामा बढ्दो सहरीकरणसँगै त्यहाँ प्रयोग भएका कंक्रिटले आकाशे पानी जमिनमुनि जान पाएको छैन ।

आकाशे पानी ढल हुँदै खोलाबाट समुद्रमा जाने गर्दा विगतका वर्षहरुमा काठमाडौं उपत्यकाका इनारहरु सुक्दै जानुका साथै बोरिङको पानी धेरै गहिराइमा पुग्न थालेको छ । यदि यो पानी सोस्ने ब्लक प्रयोग गर्ने हो भने केही हदसम्म यो समस्याको समाधान निस्कने विज्ञहरु बताउँछन् ।

के छ विषेशता ?
हाल नेपालमा प्रयोग भइरहेको भन्दा भिन्न प्रकारको व्लक उत्पादन हुनेछ । हाल पेटी तथा खुला कम्पाण्डहरुमा प्रयोग भइरहेका ब्लकहरुले पानी सोस्ने क्षमता राख्दैनन् ।

तिनीहरुको कापबाट निश्चित मात्रामा मात्रै पानी सोसेर जमिनमुनि जाने गर्दछन् । तर अहिले उत्पादन गर्न लागिएको यो ब्लकले आकाशे पानीलाई पूरै सहतबाटै आफैंले पानी सोसेर सिधै जमिनमुनि पठाउने क्षमता राख्ने जनाइएको छ ।

उत्पादन हुन लागेको यो ब्लकमा विशेष प्रविधि अपनाई आकासे पानी सोसेर सिँधै जमिनमुनि जान सक्ने गरी बनाइन्छ । यसो हुँंदा काठमाडौं उपत्यकामा पानी पुनर्भरण (ग्राण्ड वाटर रिचार्जिङ) नहुने समस्या केही हदसम्म कम हुने विश्वास गरिएको छ ।

ब्लक स्वदेशमै उपलव्ध बालुवा, सिमेन्ट, गिटी र विशेष प्रकारको केमिकल मिसाई बनाइने छ । यसको उत्पादन आवश्यकताअनुसार फरकफरक आकार र रंगहरुमा पाइने छ । ब्लक आवश्यकताअनुसार ६० एमएमदेखि १ सय एमएमसम्मका हुनेछन् । यसको अर्काे विषेषता भनेको प्रयोग सामान्य डकर्मीले नै गर्न सक्छन् । यो छाप्न विशेष प्राविधिक चाहिँदैन ।

एकहप्ताभित्र मेशिन जडानको काम सकिने सीईओ दुवाल बताउँछन् । उनले यो प्रकारको ब्लक माघको पहिलो हप्ताबाट उत्पादन हुने बताए । काराखाना भक्तपुरको चाँगुनारायण रोडमा छ ।

प्रतिकृया दिनुहोस