पाँचथरकी १०१ वर्षीय भण्डारीले पाइन् पहिलो राष्ट्रिय परिचय पत्र

Rastriya paricichay patra bitaran

पाँचथर । नेपालमै पहिलोपटक पाँचथरकी १०१ वर्षीय भगवती भण्डारीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ ।

पाँचथरको शहीद मञ्चमा सोमबार आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरे । भण्डारीले परिचयपत्र प्राप्त गरेपछि गृहमन्त्री थापालाई पनि परिचयपत्र प्रदान गरेकी छन् ।

पाँचथरमा गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन शुरु भएको थियो । हालसम्म ५२ हजारको विवरण संकलन गरिसकेको विभागले क्रमशः सबैलाई परिचयपत्र वितरण गर्ने योजना बनाएको छ ।

२०७४ भाद्र १९ गतेको सरकारी निर्णयानुसार पहिलोपटक पाँचथरका नागरिकलाई परिचयपत्र वितरण गरिएको हो । सोमबारदेखि सुरु परिचयपत्र वितरण निरन्तर चल्ने छ ।

पहिलो दिन पाँचथरका ५० जना नागरिकलाई परिचयपत्र वितरण गरिएको छ । पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारभित्र काम गर्ने कर्मचारीलाई परिचयपत्र वितरण गर्न थालिएको हो ।

के छ विशेषता ?
सरकारले आजदेखि वितरण गर्न थालेको परिचय पत्र एटिएम कार्ड जस्तै छ । व्यक्तिका सम्पूर्ण विवरण राख्न मिल्ने गरि परिचय पत्र बनाइएको छ । १० वटा अंक रहेको परिचयपत्रमा प्रत्येक व्यक्तिको नम्बर फरक रहने छ ।

नागरिकता लिएका र नागरिकता लिन योग्य व्यक्तिलाई परिचयपत्र वितरण गर्न थालिएको हो । दीर्घकालमा बच्चा जन्मनेबित्तिकै १० अंक भएको परिचयपत्र गरिने छ ।

५० डिग्री सेन्टिग्रेटसम्मको तापक्रममा नपग्लने गरी बनाइएको परिचय पत्र पानीले पनि भिज्दैन भने कोरिदँन पनि । बायो मेट्रिक चिप्सको प्रयोग गरेर परिचयपत्र निर्माण गरिएको हो ।

परिचयपत्रमा धेरै विवरण अटाउन सकिने भएपछि सुरुमा वैयक्तिक विवरण (नाम, ठेगाना, पारिवारिक विवरण) र जैविक विवरण (फोटो र औँठाछाप) मात्रै राखिएको छ ।

प्रतिकृया दिनुहोस