वृद्धालाई बोक्सी आरोपमा कुटपिट

Dhading boksi news

धादिङ । एक वृद्धामाथि बोक्सी आरोपमा कुटपिट र दुर्व्यवहार गरिएको छ । कुटपिटबाट उनी गम्भीर घाइते भएकी छिन् ।

सिद्धलेक-४ गौंथलेका स्थानीय ७३ वर्षिय एकल वृद्धा सेतीमाया लायो मगरलाई मलमुत्र खुवाई दुरव्ययवहार गरी निर्घात कुटपिट गरिएको छ ।

गम्भीर घाइते रहेकी उनलाई थप उपचारका लागि काठमाडौंको स्टार अस्पतालमा भर्ना गरिएको छ । गत कार्तिक २८ गते साँझ ७ बजे ३ जना धामी र एक सैनिक जवान मिलेर उनलाई बोक्सी आरोपमा मलमुत्र खुवाई निर्घात कुटपिट गरिएको पीडितका आफन्तले बताएका छन् ।

‘मेरी हजुर आमालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरियो । मलमुत्र पनि खुवाएका रहेछन् । घरमा रुवाबासी भएपछि दोस्रो दिन प्रहरीले ४ जनालाई पक्राउ गर्यो,’ पीडित तथा घाइते लाया मगरकी नातिनी जुना मगर पौडेलले भनिन् ।

विदामा घर आएका सेनामा कार्यरत एक स्थानीयले नै मुख्य रुपमा कुटपिट गरेको उनको आरोप छ । कुटपिट र दुरव्यवहारमा धामीहरु ५५ वर्षिय हर्कबहादुर पुलामी, ६० वर्षिय खोलबहादुर पुलामी, ४० वर्षिय यमबहादुर मगर र सेनाको कुलेखानीस्थित राजगणमा कार्यरत धनबहादुर गुर्छान मगर संलग्न रहेको पीडितका आफन्तले बताएका छन् ।

कुटपिटमा संलग्न चारै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । घटनामा संलग्न सेनाका जवान मगर भाग्ने प्रयास गरे पनि प्रहरीको सक्रियतामा उनलाई पक्राउ गरिएको छ । पीडित परिवारका अनुसार घाइते लायोलाई गोबर र दुबोसमेत खुवाइएको थियो ।

स्थानीय राजनैतिक दलका कार्यकर्ताहरुले पीडित पक्षलाई गाँउमै मिल्न चर्को दवाव दिएकाले उजुरी गर्नसमेत ३ दिन ढिलाई भएको परिवारजनले वताएका छन् ।

प्रतिकृया दिनुहोस