दाहाल निधन भएको एक वर्ष पुरा, प्रथम दाहाल स्मृति दिवस कार्यक्रम हुँदै

Parkash 300x300

काठमाडौं । तत्कालीन माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं युवा नेता प्रकाश दाहालको निधन भएको आज एक वर्ष पुरा भएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डका एकमात्र छोरा प्रकाशको गत वर्ष आजकै हृदयघातका कारण निधन भएको थियो ।

एमाले/माओवादीको चुनावी गठबन्धनको तयारीका लागि काठमाडौं आएका बेला प्रकाशको आकस्मिक निधन भएको थियो ।

प्रचण्ड निवास खुमलटारमा आज प्रकाश दाहाल स्मृति दिवस कार्यक्रम हुँदैछ । कार्यक्रममा उनीबारे प्रकाशित स्मारिका बिमोचन हुने उनको परिवारले जनाएको छ ।

दिवङ्गत प्रकाश र उनकी दिदी ज्ञानु दाहालको स्मृतिमा निर्माण भएको प्रज्ञा स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको छ । स्मृति कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु र शुभेच्छुकहरुलाई आमन्त्रण गरिएको छ ।

आज नै प्रकाश दाहालका शुभेच्छुकहरुले देशका विभिन्न जिल्लामा दीप प्रज्जवलन लगायतका कार्यक्रम गरी स्मृति दिवस मनाई रहेका छन् ।

वाइसिएल, युवा संघ नेपाल, अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले देशका विभिन्न ठाउँमा रक्तदान कार्यक्रम, खेलकूद प्रतियोगिता लगायतका कार्यक्रम गरी प्रकाश दाहाल स्मृति दिवस मनाउँदै छन् ।

युवाहरुले माइतीघर मण्डलामा प्रकाशको स्मृतिमा दीप प्रज्जवलन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस