यसकारण विप्लव नआउने भए काठमाडौंको सभामा

Biplav ncp

काठमाडौं । आगामी शनिबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा वृहत प्रदर्शन गर्दैछ । त्यसका लागि नेकपाले प्रचारप्रसार तीव्र पार्न केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलनको संयोजकत्वमा गुणराज लोहनी, प्रकाश डुम्रे, भीमप्रसाद चापागाईं र मोहन खतिवडासहितको पाँच सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिसकेको छ ।

लामो समयपछि चन्द नेतृत्वको नेकपाले आफ्नो गतिविधि सुस्त बनाएको छ । तथापि छिटफुट रुपमा भने आफ्नो गतिविधि गर्दै आएको छ । पछिल्लो समयमा उसले आफ्नो जनसत्तामा सयौ उजुरी आएको र त्यसलाई छिनोफानो गर्दै आएको दावी गरेको छ ।

पछिल्लो समयमा सुस्ताउको भनिएको नेकपाले आगामी शनिबार काठमाडौंको खुल्ला मञ्चमा जनप्रदर्शन गर्दैछ । सो सभामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सम्बोधन गर्नेछन् । प्रकाण्ड पटकपटकको हिरासतको बसाईपछि रिहाई भएका थिए ।

यसअघि सो सभामा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने भनिएको थियो । तर, राज्य पक्षले पक्राउ गर्न सक्ने सूचना पाएपछि विप्लव नआउने भएका हुन् ।

अन्तिम समयमा आएर नेकपाका प्रवक्ता प्रकाण्ड र स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनसहितको उपस्थितिमा आइतवार काठमाडौँमा भएको बैठकले महासचिव विप्लवलाई उपस्थित नगराउने निर्णय गरेको हो । विप्लव नआउने भएपछि नेकपाले जनसभाको तयारी पनि त्यही अनुसार गरिरहेको छ ।

प्रतिकृया दिनुहोस