देउवाविरुद्ध के कोइराला परिवार मिलेकै हुन् त ?

Shashanka shekhar sujata

विराटनगर । पछिल्लो समयमा नेपाली कांग्रेसभित्र गुटको राजनीति मौलाउँदै गएको छ । खासगरी पार्टी सभापतिविरुद्ध कोइराला परिवार एक भएसँगै नेपाली कांग्रेसमा गुटको राजनीतिक मौलाउँदै गएको देखिन्छ ।

देउवाविरुद्ध मोर्चाबन्दी भइरहेका बेला १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी ठानिएका शेखर र शशांकलाई एकै ठाउँ उभ्याएर उनीहरुले परिवारको लिगेसी कायमै राख्ने सन्देश दिन खोजेका छन् ।

पछिल्लो समय देश दौडाहामा रहेका नेता शेखरलाई १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने गरी कोइराला परिवार र उनीहरुका समर्थकहरुले आवश्यक रणनीति पनि बनाइरहेका छन् ।

त्यसैको जनाउ दिन गत असोज १८ गते प्रजातान्त्रिक विचार समाजको नाममा कार्यक्रम पनि गरिएको थियो । जहाँ महामन्त्री शशांक र नेता शेखर दुवैजना उपस्थित भएका थिए । स्रोतका अनुसार सुजाताले शेखरलाई सभापति बनाउने लविङ गरिरहेकी छन् ।

पछिल्लो समयमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा लागेका कोइराला परिवारका तीन नेता आइतवार विराटनगरमा एकै मालामा देखा परेका छन् । उनीहरु एउटै माला लगाएर एउटै कार्यक्रममा बस्दा देउवाविरुद्ध कोइराला परिवार एक भएको झल्को दिन्थ्यो ।

सुजाताको विशेष पहलमा आयोजित गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा पार्टीमा स्पष्ट सन्देश दिने गरी तीन कोइराला एकै ठाउँमा देखिएका थिए ।

त्यति मात्रै होइन, कोइराला परिवाभित्र कुनै रीस राग छैन भन्ने किसिमले प्रस्तुत भएका बीपी पुत्र डा. शशांक, गिरिजापुत्री सुजाता र केशव–नोना पुत्र डा. शेखर कोइरालाले कार्यालयको उद्घाटन संयुक्त रूपमा गरे ।

गत कात्तिक २५ मा सुजाताले मण्डिखाटारस्थित आफ्नो निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, डा. रामशरण महत, प्रकाशमानसिंह र कोइराला दाजुभाइलाई भेला गराएका थिइन् । जसलाई सुजाताले पार्टीको भावी रणनीतिलाई लिएर ‘राजनीतिक वार्ता’ भनेकी छन् ।
सुजाताले बाबुको निधन भएपछि आफ्नो अंशमा आएको ९ कट्ठा जग्गामध्ये आधा ‘गिरिजाप्रसाद कोइराला फाउन्डेसन’का नाममा राखेकी थिइन् । त्यही जग्गामा बनेको साढे दुई तले भवनमा फाउन्डेसनको प्रदेश कार्यालय स्थापना भएको हो । फाउन्डेसनले कार्यालय परिसरमै गिरिजाप्रसाद स्मृति सङ्ग्रहालय बनाउने निर्णय गरिसकेको छ ।

तर शशांकले पनि सभापतिमा लड्ने जनाउ यसअघि नै दिइसकेकाले कोइराला परिवारबाट एकजनाको पक्षमा सहमति जुटाउने प्रयास पनि भइरहेको छ । तर शेखरले यो निर्वाचनमा पराजय भोग्नुपरेकाले पार्टीको नेतृत्व गर्न नसक्ने आरोप पनि लागिरहेको छ।

प्रतिकृया दिनुहोस