जलविद्यत कम्पनीका सेयर आईपीओ बजारमा आउँदै

Hydro nirman 499x300

काठमाडौं । १६ वटा जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको छ ।

कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति दिई सकेका छन् । बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउने बताइएको छ ।

बोर्डबाट अनुमति पाएका २ महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ । हाल विभिन्न क्षेत्रका २१ कम्पनीको प्राथमिक तथा थप निष्कासन (आईपीओरएफपीओ) बजारमा आउने छ । तीमध्ये १६ वटा जलविद्युत कम्पनी, ४ वटा लघुवित्त र एक अन्य क्षेत्रका कम्पनी रहेका छन् ।

सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका कम्पनीमध्ये अधिकांशले स्थानीयबासीका र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका हुन् । बोर्डको तथ्यांक अनुसार विभिन्न क्षेत्रका २१ कम्पनीले कुल ३ अर्ब २७ करोड ३४ लाख ३८ हजार रुपैयाँ बराबरको ३ करोड २७ लाख ३४ हजार कित्ता सेयर निष्कासन गर्दै छन् ।

हाल सेयर बजारमा २१ वटा जलविद्युत कम्पनी सूचीकृत छन् । यो वर्ष संख्या बढेर ४० भन्दा बढी पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी ३ दर्जन बढी पुग्ने देखिएको छ ।

नेपालमा निर्माणको चरणमा धेरै जलविद्युत कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये धेरै जलविद्युत कम्पनी देखिएका छन् । हाल सेयर बजारको कुल कारोबारमा जलविद्युत समूहको हिस्सा औसत ३ देखि ४ प्रतिशत मात्र छ ।

सूचीकृत कम्पनी संख्या बढेपछि एकातिर कुल कारोबारमा जलविद्युत समूहको हिस्सा थपिने छ भने अर्कातिर लगानीकर्ताले लगानी विविधीकरण (पोर्टफोलियो म्यानेजमेन्ट) सुविधा पाउने छन् ।

जलविद्युत कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयबासीलाई दिनुपर्ने कानुनी व्यवस्था छ । स्थानीयबासीलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार जलविद्युत लगायत उत्पादनमूलक क्षेत्रका कम्पनीले आयोजना प्रभावितलाई बाहेक थप कम्तीमा १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्छ ।

विगत लामो समयदेखि सेयर बजारमा वित्तीय क्षेत्रको प्रभुत्व रहँदै आएको छ । कुल सूचीकृत कम्पनीमध्ये ८० देखि ८५ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको छ । यसकारण राष्ट्र बैंक र बिमा समितिका स-साना निर्देशनले पनि सेयर बजार नराम्ररी प्रभावित हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस