राष्ट्रपति भण्डारी कतार भ्रमणमा जाने

राष्ट्रपति विद्यादेवी भण्डारी कतारको औपचारिक भ्रमणमा जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको औपचारिक भ्रमणमा जाने भएकी छन् । राट्रपति भण्डारीले यही कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । कतारका अमिर शेख तमीम विन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जान लागेकी हुन्। ।

राष्ट्रपति भण्डारीले कात्तिक १३ गते अमिरि दिवानमा कतारका अमिरसँग भेटवार्ता गर्नेछिन भने सोहि दिन कतारी अमिरले भण्डारीको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछिन् ।

राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका अध्यक्ष एवं सहसंस्थापक श्रीमती शिखा मोजा विन्ट नासरले शिष्टाचार भेट गर्नेछिन्। कात्तिक १३ गते नै राष्ट्रपति भण्डारीले नेपालमा व्यापार र लगानीको अवसर विषयमा त्यहाँको व्यापारिक समुदायलाई सम्बोधन गर्नेछिन् ।

यसैगरी राष्ट्रपति भण्डारीले दोहास्थित नेपाली दुतावास र त्यहाँ रहेका नेपाली समुदायसँग भेट्ने कार्यक्रम पनि तय गरिएको छ । राष्ट्रपति भण्डारी दोहा पुग्दा नेपाली राजदूत रमेश प्रसाद कोइरालाले दूतावासको तर्फबाट कात्तिक १२ गते रात्रीभोजको आयोजना गर्नेछन् ।

राष्ट्रपति भण्डारीका साथमा व्यापारिक प्रतिनिधिमण्डल पनि रहनेछ । भण्डारीको भ्रमण दलमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागी एवं राष्ट्रपति कार्यालय र परराष्ट्रका अन्य अधिकारीहरु पनि सामेल हुने परराष्ट्र मन्त्रालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारी कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस