रमेश लेखक भन्छन्, निर्मला पन्तको केशमा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ

Ramesh lekhak

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मलन पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बहस चल्न थालेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको यत्तिका दिन बित्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्दाको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने दावी गरेका छन् ।

रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेता लेखकले भने, ‘गृहमन्त्रीले मैले हत्यारा पत्ता लगाउन सकिन भन्नुपर्छ । नैतिक जिम्मेवारी लिनुपर्छ ।’ उनले प्रहरी अधिकृतहरुलाई बर्खास्त गरेर मात्रै मुल विषयवस्तुबाट पन्छिने प्रयत्न नगर्न गृहमन्त्री बादललाई आग्रह गरे ।

‘सरकारले प्रहरी कर्मचारीलाई मात्रै दोषी ठहराएर बर्खास्त गर्ने कुरा सुहाएन’ उनले भने, ‘प्रहरी कर्मचारीको हाकिम त गृहमन्त्री हो नि । गृहमन्त्रीले नैतिक रुपमा बोल्नुपर्छ कि पर्दैन ? मैले हत्यारा पत्ता लगाउन सकिन भनेर बोल्नुपर्छ कि पर्दैन् ? त्यसो भन्दै गर्दा सरकारमा बस्ने अधिकार हुन्छ कि हुँदैन् ?’

‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९२ दिन भयो, तर सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन’ उनले भने, ‘कञ्चनपुरका जनताले बलात्कारी र हत्यारा पक्राउ गर्न माग गरेका छन् । चाँडोभन्दा चाँडो वास्तविक अपराधी पत्ता लगाउनुपर्छ । प्रहरी अधिकृतलाई बर्खास्त गरेर मुल विषय र आफ्नो दायित्वबाट सरकार पन्छिनुहुँदैन् ।’

उनले यदि प्रहरी अधिकारीलाई बर्खास्त गरेर त्यसो गर्न खोजेको हो भने त्यो बेठीक हुने तर्क गरे । उनले निर्मला पन्तको बलात्कारपछिको हत्या जघन्य अपराध भएकोले सरकारले अहिलेसम्म अपराधी पत्ता लगाउन नसक्नु सरकारको असफलता भएको आरोप पनि लगाए ।

‘यसले सरकार असफलतातर्फ गएको संकेत गरेको छ । सरकारको काम भनेको शान्ति, सुरक्षा कायम गर्नु र जीउ धनको रक्षा गर्नु हो’ उनले भने, ‘निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्नुपर्छ । अहिलेपनि म यहीँबाट भन्न चाहन्छु मुल विषयवस्तुलाई नअलमलाई अपराधीलाई कारबाही गरोस् ।’

लेखकले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण अब कञ्चनपुरको मात्रै विषय नभएर राष्ट्रिय विषय भइसकेको बताए । उनले सरकार आफ्नो मुल दायित्वबाट पन्छिन नहुने धारणा राखे । ‘वास्तविक अपराधी पत्ता लगाउन ढिला भइरहेको छ’ उनले भने, ‘यसले सर्वथा सरकार आँफै अपराधी संरक्षण गरिरहेको छ भन्ने जनतामा गुनासो छ ।’

प्रतिकृया दिनुहोस