अस्ताए व्यवसायीक पत्रकारिताका धरोहर हेमराज ज्ञवाली

Hemraj gyawali

काठमाडौं । नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधन भएको छ ।

नेपालमा व्यावसायिक पत्रकारिताका धरोहर मानिने ज्ञवालीको ७९ वर्षको उमेरमा शनिबार साँझ निधन भएको हो । उनलाई छातीमा असजिलो भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएको थियो । तर, उनको उपचारका क्रममा निधन भएको हो ।

उनको शनिबार राती नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका धर्मपत्नी लल्मी र तीन छोरा विनोदराज ज्ञवाली, अच्युतराज ज्ञवाली र धु्रवराज ज्ञवाली छन् ।

को हुन् ज्ञवाली ?
उनी कान्तिपुर पब्लिकेसनको पनि संस्थापक अध्यक्ष थिए । २०४७ को संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेन्टी गरेसँगै ज्ञवालीसहितको टोलीले २०४९ फागुन ७ गते कान्तिपुर पत्रिका प्रकाशन सुरु गरेको थियो ।

२०४६ को राजनीतिक परिवर्तनपछि निजी क्षेत्रबाट कान्तिपुर पत्रिका प्रकाशन सुरु गरेर व्यावसायिक पत्रकारिताको थालनी गरेका थिए । उनलाई नेपाली पत्रकारितामा व्यवसायी पत्रकारिताको प्रवेश गराउने धरोहरका रुपमा लिइने गरिएको छ ।

कान्तिपुर पत्रिका प्रकाशनसँगै नेपाली पत्रकारितामा नयाँ युग सुरु भएको हो। ज्ञवाली २०६२/०६३ को जनआन्दोलनपछि स्थापित अर्को सञ्चार गृह नेपाल रिपब्लिक मिडियाको संस्थापक अध्यक्ष बनेका थिए । निजी क्षेत्रबाट ठूलो लगानीमा पत्रिका प्रकाशनसँगै नेपाली पत्रकारिताले व्यावसायिक स्वरूप ग्रहण गरेको हो ।

उनी जयतु संस्कृतमका संस्कृतमको स्वर्ण महोत्सव २०५४ का बेला संस्थाको कोषाध्यक्ष थिए । श्रीभद्र शर्माको निधनपछि ज्ञवाली सो संस्थाको अध्यक्ष भएका थिए ।

भुवनेश्वर र पूर्णकुमारीका कोखबाट १९९५ साल चैत १७ गते रामनवमीका दिन गुल्मी जिल्लाको मानकोटमा जन्मिएका ज्ञवालीले वाराणसेय संस्कृत विश्वविद्यालयबाट शास्त्री र त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका थिए । २०१७ देखि सरकारी सेवामा प्रवेश गरेका ज्ञवालीले २०४४ सम्म तत्कालीन श्री ५ को सरकारको सेवामा प्रमुख जिल्ला अधिकारी, महानिर्देशक र सहसचिव जस्ता पदमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए ।

अध्यात्म र सनातन धर्मप्रति आस्थावान् ज्ञवालीका भन्सार प्रशासन एक विवेचना, योगवाशिष्ठसार, माण्डूक्योपनिषद्, पुष्पाञ्जलि, पौरखी पुर्खा र मेरो जीवनका पानाहरू, हाम्रो बद्री केदार यात्रा, हनुमान स्मृतिसहित दर्जन बढी कृति प्रकाशित छन् ।

कला, साहित्य, संस्कृतिसहितका विषयमा निरन्तर कलम चलाउँदै आएका ज्ञवालीले विभिन्न धर्मग्रन्थको नेपालीमा अनुवाद गरेका छन् ।

 

प्रतिकृया दिनुहोस