कञ्चनपुरमा हात्ती आतंक, ४० बिगाहाको धानबाली नष्ट

Hatti

महेन्द्रनगर । कञ्चनपुरमा विभिन्न गाउँमा हात्तीको आतंक बढेको छ । हात्तको झुण्डले करिब ४० विगहामा लगाएको धानबाली नोक्सान गरिदिएको छ भने १० वटा घर भत्काइदिएको छ । हात्तिको आक्रमणबाट एकजना घाइते भएका छन् ।

एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् ।

पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि स्थानीय बासिन्दा अनिदोमै रात काट्न थालेका हुन् ।

सबै गाउँले होहल्ला गर्दै पटका पड्काउने, ढोलक बजाउने गरे पनि हात्ती खेतमा छिरेर धानबाली सखाप पार्ने गरेको छ। रातभर अनिँदो रहने बासिन्दा दिउँसभर सुत्ने गरेका छन् ।

पटाका पड्काउने र आगो देखेर तर्सेर भाग्ने गरेका हात्तीको झुण्ड तर्सनसमेत छाडेको स्थानीय पल्टु डगौराले बताए। रातभरी धान खाएर हात्तीको झुण्ड बिहानीपख शुक्लाफाँटा निकुञ्ज र सामुदायिक वनतर्फ लाग्ने गरेका छन् ।

छावासहित २० भन्दा बढी हात्तीको झुण्ड भगाउनका लागि रातभर स्थानीयवासी छिमेकी गाउँका बासिन्दाको सहयोगमा लाग्ने गरेका छन्। जति गरे पनि हात्तीको झुण्ड नभाग्ने स्थानीय सोनु चौधरीले बताए ।

हालसम्म हात्तीको झुण्डले रानीपुर र खजुवापट्टिमा मात्रै दश बिघा बढी क्षेत्रफलमा लगाएको धानबाली नोक्सान गरेको छ । हात्तीको झुण्ड दुई भागमा बाँडिएर बस्दा समस्या हुने गरेको स्थानीयले बताएका छन् ।

दुईतर्फबाट घेरेर हात्तीको झुण्डले धानबाली खाने गरेको छ । एउटा झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने र अर्को झुण्ड नजिकैको सामुदायिक वनबाट बस्तीमा आउने गरेको छ ।

दुई दिनअघि मात्रै हात्तीको झुण्डले वैशाखा र गणेशपुरका सात बढी बासिन्दाको घरसमेत भत्काएको थियो । घर भत्काएका परिवार छिमेकीको शरणमा बस्न बाध्य छन्। घरभित्र राखेको अन्नसमेत हात्तीले खाएपछि हात्ती पीडित परिवारको बिजोग भएको छ ।

हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिकाको वडा नं १, २, ३, ५, ८ र १२ का दर्जनौँ बासिन्दाको धानबालीमा क्षति गरेको छ ।

स्थानीवासीको जीउधनको सुरक्षा गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सजग गराइएको उनले बताए। सुरक्षा निकायका तीनवटै अङ्गलाई हात्ती प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

प्रतिकृया दिनुहोस