कृषि मन्त्री खनाल भन्छन्, चाडपर्वको मौका छोपेर कालोबजारी गरे कडा कारवाही

Krishi mantri khanal

काठमाडौं । बजार मुल्यले आकास छोएको छ । यसलाई नियन्त्रण गर्नुको सट्टा सरकारी निकाय भने कारवाही गर्ने धम्कीमै अल्झिएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले चाडपर्वको मौका छोपेर कसैले कालोबजारी र गलत काम गर्न खोजे सरकारले कडाभन्दा कडा कारबाही गर्ने पनि चेतावनी दिएका छन् ।

‘हामीले बजार अनुगमन गरिरहेका छौं । कसैले पनि चाडपर्वको मौका छोपेर गलत गर्नेबारे नसोचे हुन्छ’ उनले भने, ‘मैले कडाईका साथ अनुगमन गर्न कैफियत भेटिए विना पुर्वाग्रह कारवाही गर्न निर्देशन दिएको छु ।’

उनले एक वर्षसम्म खाद्य सुरक्षा अभियान सञ्चालन गर्ने पनि जनाए । ‘एक वर्षसम्म नै खाद्य सुरक्षा अभियान चलाउँछौं । चार वटा मोवाईल भ्यानमार्फत अभियान चलिरहेको छ’ उनले भने, ‘अझैसम्म पनि सञ्चालनमा नआएकोले मैले तत्काल नै सञ्चालन गर्न खाद्य तथा गुण नियन्त्रक विभागलाई निर्देशन दिईसकेको छु ।’

उनले यसलाई दशैं तथा तिहार लगायतका चाडपर्वमा मात्रै नभएर वर्षैभरि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । दशैं तथा तिहारमा मात्रै अनुगमन गर्ने हो भने अनुगमन तथा नियामक निकायलाई खारेज गर्दा हुने उनको तर्क छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले अनुगमनपछि २२ पानी उद्योगमा ताला लगाएको दावी गरे । उनले त्यसयता अहिले सुधारउन्मुख रहेको दावी पनि गरे । ‘त्यस्तै दुधमा पनि अनुगमन गरेका थियौं । अहिले दुधमा ९२ प्रतिशत सुधार भएको छ’ उनले भने, ‘गुणस्तर कायम गरेका छौं ।’

प्रतिकृया दिनुहोस