प्रहरीको घेरा तोडेर भागेका बलात्कार आरोपी पक्राउ

Pagal haru

ललितपुर । प्रहरीको घेरा तोडेर भागेका बलात्कार आरोपी पक्राउ परेका छन् ।

ललितपुर महांकाल गाउँपालिकाकी एक १३ वर्षीय बालिकामाथि बलात्कारको प्रयास गरेपछि पक्राउ परेका बब्लु कुमार माझी बिहीबार प्रहरीको घेराबाट भाग्न सफल भएका थिए ।

फरार बब्लुलाई ललितपुरकै माथिल्लो गोटीखेलबाट शुक्रबार बिहान साढे चार बजे पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार खिउजुले जानकारी दिएका छन् ।

महांकालमा बसेर एक ग्रील फ्याक्ट्रीमा काम गर्दै आएका भारतको देदीया भन्ने ठाउँका २० वर्षीय बब्लु कुमारले बुधबार राति १० बजेतिर सुतिरहेकी बालिकालाई जबरजस्ती करणी गर्न खोजेका थिए ।

आरोपी बस्ने ठाउँ र बालिकाको घर नजिकै रहेको र सबै सुतिसकेपछि बालिकाको कोठामा पसेर उनले बालिकालाई बलात्कारको प्रयास गर्नेबित्तिकै बालिका चिच्याएपछि बब्लु भागेका थिए । तर बालिकाका बाबुआमाले उनलाई समाएर प्रहरी चौकीमा बुझाए ।

प्रहरीका अनुसार नियन्त्रणपछि आरोपी बब्लु कुमारलाई महांकालस्थित इलाका प्रहरी कार्यालय टुंगुनको प्रतिक्षालयमा राखेर सोधपुछ गर्ने क्रममा आक्रोशित स्थानीयले हातपात गर्न खोजेका थिए । त्यसपछि प्रहरीले उनलाई कोठाभित्र लगी भीड मत्थर बनाउँन जाँदा झयालबाट हामफालेर भागेका थिए ।

पक्राउ परेका बब्लु कुमारलार्इ महानगरीय प्रहरी वृत्त चापाँगाउँ ल्याइने र उनी भागेका बेला उक्त चौकीका ड्यूटीमा रहेका पाँच जना प्रहरीलाई पनि सोधपुचका लागि शुक्रबार महानगरीय प्रहरी वृत्त चापाँगाउँ बोलाइएको डीएसपी खिउजुले बताएका छन् ।

प्रतिकृया दिनुहोस