‘दुई तिहाइको सरकारलाई असफल हुने छुट छैन, सफल बनाउनुपर्छ’

Thakur gaire 1

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य ठाकुर गैरेले वर्तमान सरकारलाई सफल बनाउनुपर्ने बताएका छन् ।

यो दुई तिहाइको सरकारलाई असफल हुने छुट नभएकाले यसलाई सफल बनाउन नेता तथा कार्यकर्ता लाग्नुपर्ने उनले बताए । नेकपा नीति र विधिमा अघि बढ्ने पार्टी भएकाले चुनावको प्रतिबद्धता गरेर देखाउन नेता गैरेले बताए ।

नेपाल कम्युनिष्ट पार्टी पाल्पाद्वारा आयोजित रिब्दीकोटमा अगुवा कार्यकर्तालाई भेलालाई सम्बोधन गर्दै युवा नेता गैरेले देशमा परिवर्तन ल्याउन नेकपाको नेतृत्वको सरकार सफल हुने बताए ।

नेकपाका केन्द्र्रीय सदस्य तथा प्रदेश नं ५ का सांसद तुलाराम घर्तीमगरले नेपालमा तीन तहको सरकार सञ्चालनको अभ्यास पहिलो रहेको बताए । उनले पार्टी राम्रो बने सरकारका काम कारवाही पनि प्रभावकारी हुने भएकाले नेकपालाई राम्रो पार्टी बनाउनुपर्ने बताए ।

नेकपाका नेता नेत्रप्रसाद पाण्डे, पार्टी संयोजन समितिका संयोजक राधाकृष्ण कँडेलले पार्टीका कमिटीलाई चुस्तदुरुस्त बनाउन सबै कार्यकर्ता लाग्नुपर्ने बताए।

कार्यक्रममा प्रदेश सांसद तथा जिल्ला नेता नारायण आचार्य, कुलप्रसाद नेपाल, यादवबहादुर रायमाझी, राजेन्द्र विश्वकर्मा, जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल र रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले पार्टी र सरकार सञ्चालनमा कमीकमजोरी रहे पनि अब सच्याएर अघि बढ्ने बताए ।

प्रतिकृया दिनुहोस