एयरपोर्ट ओर्लनासाथ ओलीले भने, हावाले पात हल्लियो भन्दैमा पछि लाग्नु भएन

Oki ktm

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए । केही बेर पत्रकारसँग भलाकुसारी गरे । त्यही बेला उनले भने, ‘कवि मनले लयात्मक ढंगले केही भनिहाल्यो भने त्यसैलाई समातेर कुद्नु पर्ने छैन । पुराना गीत सम्झना हुनसक्छ ।’

उनको यो भनाई नेकपाका नेता माधवकुमार नेपाल लक्षित थियो । ‘हावा चलेर पात हल्लियो भनेर हावाको पछि लाग्नु भएन नि’ उनले भने, ‘त्यसको पछाडि लाग्नु दृष्टिकोण नभएको राजनीति हुन्छ, त्यस्ता राजनीतिको पछाडि कतिपय पक्ष कुदे भने मुद्दाहीनताको कुरामात्र देखिन्छ ।’

प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपालको असन्तुष्टि सामान्य भएको जिकिर गरे । उनले २९ सालदेखि मित्रता रहेको भन्दै नेपाललाई फकाउने प्रयास गरे ।

यसअघि नेपालको विकास भएको तर, ७ महिना मात्र केही नभएको जसरी चर्चा गरिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘सबैभन्दा लामो समय सरकारमा बस्ने साथीहरुलाई भन्न चाहन्छु । यो गाली गरेपछि सन्तोष माने कुरा मात्र हो ।’

उनले अमेरिका तथा कोष्टारिका भ्रमण नेपालको हित प्रवर्धनमा फलदायी भएको बताएका छन् । राष्ट्रसंघको ७३ औं महासभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री ओलीले कोष्टारिकाको पनि भ्रमण गरेर फर्किएका छन् ।

बिहिबार दिउँसो ४ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका ओलीलाई सभामुख कृष्णबहादुर महराले स्वागत गरेका थिए । प्रधानमन्त्रीलाई स्वागत गर्न राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, मन्त्रीहरू मातृका यादव, रवीन्द्र अधिकारी, थममाया थापा लगायत विमानस्थल पुगेका थिए ।

त्यसैगरी प्रदेश ३ की प्रमुख अनुराधा कोइराला, संघीय संसदका सांसदहरू, सुरक्षा निकायका प्रमुखहरू, सत्तारुढ दल नेकपाका नेताहरू पनि विमानस्थल पुगेका थिए ।

प्रतिकृया दिनुहोस