प्रदेश नं.१ को राजधानी विराटनगर बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Biratnagar c

मोरङ । प्रदेश नं.१ को स्थायी राजधानी विराटनगरलाई बनाउन माग गर्दै विराटनगरका ६३ वटा विभिन्न सामाजिक संघसंस्थाले १ नम्बर प्रदेशसभाका सभामुख र मुख्यमन्त्रीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

पर्याप्त पूर्वाधार र सामथ्र्य राजधानी बन्न विराटनगर नै उपर्युक्त भएको उनीहरुको तर्क छ । उद्योग वाणिज्य संघ, मोरङ, मोरङ व्यापार संघ, नेपाल पत्रकार महासंघ मोरङ लगायतका विभिन्न संघ संस्थाले राजधानी हुने आधार सहित ज्ञापनपत्र बुझाएका हुन् ।

१ नम्बर प्रदेशको संसद सचिवालयमा बिहान ११ बजे पुगेका उद्योगी व्यापारीहरुले राजधानीको पर्याप्त आधार हुँदा हुँदै अन्यत्र लगे संघीयता र समृद्धिको नारा सार्थक नहुने भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

ज्ञापन पत्र बुझ्दै सभामुख प्रदीपकुमार भण्डारीले विराटनगरका सरोकारवाले उठाएका उपर्युक्त सुझावको विषयमा सम्बन्धीत ठाउँमा जानकारी दिने बताए । यस्तै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राजधानीको विषयमा संसदले ठोस निर्णय गर्ने भएको कारण अहिले नै आत्तिन नहुने बताए ।

प्रदेशको नाम र राजधानीको टुंगो लगाउन नेकपाको संसदीय दलमा छलफल भइसकेको छ भने नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । प्रदेशसभाको २ तिहाई मतले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने संवैधानिक व्यवस्था छ । सरकारले संसदको यही अधिवेशनमा यो विषयलाई टुंग्याउने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस