रविन्द्र मिश्रको प्रश्न, प्रधानमन्त्रीले नै निर्मलाको हत्यारा पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ भन्नुको अर्थ के हो ?

Mishra kp oli billa

कञ्चनपुर । निर्मला पन्तको हत्याको छानबिनमा सरकारको उदासिनका कारण सदनमा चर्को आलोचना भएको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बताएका छन् ।

कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका लागि बुधबार महेन्द्रनगर पुगेका मिश्रले निर्मलाको परिवारसँग भेटघाटका क्रममा निर्मला पन्तको हत्याको छानबिनमा सरकारले चासो नदेखाएको बताएको हो ।

घटनाको पछिल्लो अवस्थाका बारेमा परिवारसँग जानकारी लिएपछि संयोजक मिश्रले निर्मलाको न्यायका लागि सिंगो देश नै लागेको बताए । उनले सत्य र न्यायको लडाईँमा कमजोर बन्न नहुने भन्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

‘निर्मलाको न्यायका लागि सिंगो देश नै लागेको छ’, मिश्रले भने ‘त्यसैले नै अहिले संसददेखि सडकसम्म सरकारको आलोचना भएको छ ।’ मिश्रलाई घटनाका बारेमा भन्दे गर्दा निर्मलाका बुबाको गला अवरुद्ध भयो । उनले आँसु थाम्न सकेन ।

‘हामीले पैसा, नोकरी वा अन्य कुनै भौतिक कुरा मागेका छैनौँ’ निर्मलाका बुवाले भने, ‘सरकारसँग छोरीको हत्यारा पत्ता लगाउन भनेका छौं । छोरीको न्याय मागेका छौँ ।’ घटनाको लामो समय बितिसक्दा पनि अहिलेसम्म न्याय नमिल्नु दुखद् भएको भन्दै मिश्रले परिवारलाई धैर्य गर्न आग्रह गरे ।

‘निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष लाग्न सक्छ भन्नुको अर्थ के हो ?’, प्रधानमन्त्रीको भनाईलाई उद्धृत गर्दै मिश्रले भने ‘अनुसन्धानका लागि १२ वर्ष होइन २४ वर्ष नै लाग्ला । तर, देशको प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति कत्तिको जायज हो ?’

प्रतिकृया दिनुहोस