पत्रिका जलाइएकोमा पत्रकार महासंघको आपत्ति

Jalaiyo patrika

काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर कैलालीको अत्तरियामा वितरणका लागि लगिएका राष्ट्रिय दैनिक पत्रिका जलाइएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

सुदूरपश्चिमको राजधानीसम्बन्धी समाचार ती पत्रिकाहरुमा छापिएको भन्दै हातमा पेट्रोल बोकेर आएका ४/५ जनाको समुहले विहान ६ बजे वितरणका लागि लगिएको पत्रिका गाडीबाट कब्जामा लिई अत्तरियाको निलम पुस्तक पसलअगाडि जलाएका थिए ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ती जारी गर्दै जनताको सुसूचित हुनपाउने अधिकारलाई कुण्ठित पार्ने महासंघको ठहर छ । महासंघ यस्ता प्रेसविरोधी क्रियाकलापको कडा शब्दमा निन्दा गरिएको छ ।

कुनै पनि बहानामा जनतालाई सुसूचित गराउने भरपर्दो माध्यमको रुपमा रहेका पत्रपत्रिका जलाइनु तथा पत्रकारमाथि आक्रमण गर्नु भनेको स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएका महासंघले जनाएको छ ।

यसअघि असोज १६ गते आफू अनुकूल समाचार प्रवाह नगरेको भन्दै कञ्चनपुरमा सगरमाथा टेलिभिजनका सम्वाददाता चन्द्रकान्त जोशीमाथि एक समुहले आक्रमण गरेको थियो । यसलाई महांसघले यस्ता कार्यले नेपालको संविधानको धारा १९ मा व्यवस्था भएको सञ्चारको हकको उल्लंघन भएको ठहर गरेको छ ।

महासंघ यो घटनाको छानबिन गरी दोषीलाई तत्काल् कानुनी दायरामा ल्याउन र सञ्चारकर्मी र सञ्चारमाध्यमको सुरक्षामा संवेदनशील भई यस्ता घटना नियन्त्रणमा कडा कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेपाल पत्रकार महासंघ कैलालीले पनि पत्रपत्रिकामा आगजनी गरिएको घटनाप्रति आपत्ति जनाउँदै घटनामा संलग्नको खोजी गरी कडा कारवाही गर्न माग गरेको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा आम नागरिकलाई सुसूचित हुने अधिकारबाट वञ्चित हुने गरी पत्रिका जलाइएको घटना प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस