काठमाडौंमा अठार सय स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी

Cc camara

काठमाडौं । सुरक्षालाई अझ मजबुत बनाउनका लागि काठमाडौं महानगरपालिकाले एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । 

यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा करीब ५०० भन्दा बढी क्यामेरा जडान गरेको छ ।

अब जडान गर्ने अरु एक हजार ४०० भन्दा बढी क्यामेराको लागि पनि नेपाल प्रहरीसँगै मिलेर नै काम गर्ने कामपाको सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

जडानको लागि एक हप्ताअघि कामपा र नेपाल प्रहरीबीच कार्यदल बनिसकेको छ । यसअघि नेपाल प्रहरीले कामपाको मुख्य शहरमा क्यामेरा जडान गरे पनि अब राखिने क्यामेरा सम्पदा क्षेत्र, नदीको किनार र कम सुरक्षा रहेको सडक गल्लीमा राखिने तयारी कार्यदलको छ ।

त्यसैगरी आगामी दिनमा फोहर सङ्कलन क्षेत्रमा पनि क्यामेरा राखिनेछ । नगरका कर्मचारीले समयमा नै फोहर सङ्कलन गरे कि गरेनन् भन्नेबारे जानकारी लिने र नगरेमा कारवाही गर्न सहजिलो हुने विश्वास गरिएको छ ।

त्यस्तै सर्वसाधारणले पनि जथाभावी फोहर फालेका छन् की छैनन् भन्ने जानकारीको लागि पनि यसरी क्यामेरा जडान गर्न लागिएको हो ।

सम्पदा क्षेत्रको संरक्षण र सरसफाइ नियमित गर्नका लागि क्यामेराले सहयोग गर्ने पनि जनाइएको छ । क्यामेराको क्षमताको आधारमा कति कति दूरीका क्यामेरा जडान गर्ने निश्चित गरिन्छ । सामान्यतया एउटा क्यामेराले तीन मिटरदेखि २५ मिटरसम्मको क्रियाकलापलाई सुरक्षित गर्दछ ।

 

प्रतिकृया दिनुहोस