प्रदेश नं. १ : पेचिलो बन्दै प्रदेश राजधानी र नामकरण

Pradesha baihak 1

विराटनगर । प्रदेश नं. १ को राजधानी र नामकरणबारे टुंगो लगाउन नसक्दा प्रदेश सरकार आलोचनाको पात्र बनेको छ ।

साउन महिनामै प्रदेश राजधानी र नामकरण सक्ने बताएका मुख्य मन्त्री शेरधन राई नेतृत्वको सरकारले असोजको आधा महिना वित्दा पनि टुंगो लगाउन सकेको छैन ।

चौतर्फी आलोचना भएपछि सोमबारदेखि नेकपा प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । तर, सो बैठकमै फरक–फरक धारणा आएको छ । सो बैठकमा बोल्ने नेकपा सांसदले आफूलाई पायक क्षेत्रमै प्रदेश राजधानी हुनुपर्ने अडान राखेका छन् ।

दुई दिनमा ५६ जनाले आआफ्ना धारणा राखेका छन् । मुख्यमन्त्री शेरधन राई लगायतका चार जना मन्त्रीले बोलेपछि बैठक सकिनेछ । राजधानीका लागि आएका सुझावमाथि प्रदेश सरकारले थप छलफल गर्ने मुख्यमन्त्री राईले बताए ।

बैठकमा मोरङका सांसदले विराटनगर, पहाडी र पूर्व–पश्चिम राजमार्ग आसपास तथा उत्तरका सांसदले इटहरी राजधानीका लागि उपयुक्त हुने धारणा राखेका छन् । धनकुटा, सुनसरीको चतरा वा गोठगाउँलाई पनि राजधानी बनाउन सकिने धारणा बैठकमा आएको जनाइएको छ ।

आन्तरिक मामिलामन्त्री हिक्मत कार्की र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो राजधानी विराटनगर हुनुपर्ने पक्षमा छन् ।

मन्त्रीद्वय जीवन घिमिरे र जगदीश कुसियत मौन छन् । कार्की नाम कोसी वा सगरमाथा हुनुपर्ने पक्षमा छन् । आङ्बो र मुख्यमन्त्री राई नाममा किरात हुनुपर्ने पक्षमा देखिएका छन् । प्रदेश १ मा नेकपा दुईतिहाइ बहुमतसहित सरकारमा छ ।

सहमति जुट्न नसके कार्यदल बनाई निष्कर्षमा पुग्नुपर्ने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत बताउँछन् ।

प्रतिकृया दिनुहोस