बन्द बन्यो विध्वांसकारी : सरकारी कार्यालयमा तोडफोड, कर्मचारीमाथि कुटपिट

Kanchanpur banda 1

महेन्द्रनगर । निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्र्दै गरिएको शान्ति पूर्ण बन्द आन्दोलन ध्वंसात्तामक बनेको छ । बन्दकर्ताले सरकारी गाडी, कम्प्यटुर, कार्यालय बाहिरका गमला लगायतमा तोडफोड गरेका छन् ।

सुरक्षाकर्मीका सामु कर्मचारीलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालिएको छ । केही कर्मचारीमाथि कुटपिट गरिएको छ । केही कार्यालयका कर्मचारीलाई कुटपिट गरिएको छ । कर्मचारीमाथि कुटपिट हुँदा सुरक्षाकर्मीहरु मौन भएर बसेका छन् ।

कार्यालयको बा२झ २७१५ नम्बरको जीप तोडफोड गरिएको छ । वकिल कार्यालय सहित थप दुई कार्यालयमा तोडफोड गरिएको छ । जिल्ला समन्वय समिति र जिल्ला प्राविधिक कार्यालयका कुर्सी र टेबुल तोडफोड गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा कम्प्यटुर तोडफोड गरिएको छ ।

सगरमाथा टिभीका कञ्चनपुर संवाददाता चन्द्रकान्त जोशीमाथि कुटपिट गरी क्यामेरा तोडफोड गरिएको छ । उनीहरुले भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट विरुद्ध नाराबाजी गर्दै कार्यालय नजिक टायर बालेका छन् । केही बन्दकर्ताले नगरपालिका कार्यालयभित्र पसेर कर्मचारीलाई बाहिर निकालि दिएका छन् ।

निर्मला पन्त प्रकरणमा भीमदत्त नगरपालिकाका मेयर विष्टलाई सुरुदेखि विवादमा तान्न खोजिएको हो । साउन ११ गते पन्तको शव भेटिएपछि केहीले नगर प्रमुख विष्ट विरुद्ध नाराबाजी गर्र्दै पन्तको शव नगरपालिका कार्यालय अगाडि लिएर प्रदर्शन गरिएको थियो ।

त्यसपछि आन्दोलनमा कार्यालयमा तोडफोड र गोदाममा आगजनी गरिएको थियो । नगर प्रमुख विष्टको बदनाम गर्न भतिजासित नाम जोडेर दुष्प्रचार गरिएको थियो । कञ्चनपुर बन्द पनि नगर प्रमुख विष्टविरुद्ध केन्द्रित गरिएको छ ।

जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले कार्यालयमा आएर गाडी तोडफोड र कर्मचारीमाथि कुटपिट गरिएको बताए । सरकारी वकिल कार्यालयका कर्मचारीहरु नायब सुब्बा कृष्ण भट्ट, कम्प्युटर डाटा अपरेटर मञ्जु भट्ट र कार्यालय सहयोगी धनबीर भाटलाई कुटपिट गरिएको छ । कर्मचारीहरुले कुटपिटको प्रतिकार गरेका थिए ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एव कञ्चनपुरका संयोजक गणेश भट्टले नेविसंघको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको बताउँछन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले सरकारी कार्यालय, सवारी साधन र पत्रकारमाथी कुटपिट गर्नेको खोजी भईरहेको बताए ।

वकिल कार्यालयमा प्रतिकार
यता, सरकारी वकिल कार्यालयका कर्मचारीले बन्दकर्ता विरुद्ध प्रतिकारमा उत्रिएका छन् । नेपाल विद्यार्थी संघका कार्यकर्ता कार्यालय पसेर गाडी तोडफोड र कर्मचारीमाथि कुटपिट गरेपछि प्रतिकार गरिएको हो ।

कार्यालयका नायब सुब्बा कृष्ण भट्ट सहितका कर्मचारीमाथि कुटपिट गरिएपछि प्रतिकार गरिएको छ । प्रतिकारका क्रममा कार्यालय सहयोगी धनबीर भाटको सर्टको बटन च्यातिएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले गाडी तोडफोड र कर्मचारी कुटपिटमा संलग्नविरुद्ध मुद्दा दायर गर्ने तयारी अघि बढाएको छ । जिल्ला न्यायाधिवक्ता भट्टले सरकारी जीप, कार्यालय र कर्मचारीमाथि कुटपिट गर्ने विरुद्ध मुद्दा दायर गर्ने तयारी गरिएको बताए ।

प्रतिकृया दिनुहोस