दिल्लीबाट पासपोर्ट नआउँदा यसरी तुहियो अमेरिका जाने स्वास्थ्यमन्त्री यादवको योजना

Neta yadav

कठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्यको एक कार्यक्रममा सहभागी हुन अमेरिका जान भिषा नपाएको खुलेको छ । क्षयरोगका विषयमा अमेरिकामा भएको उक्त कार्यक्रमका भिषा नपाएपछि यादव सहभागी हुन सकेनन् ।

उक्त कार्यक्रममा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशिल प्याकुरेल लगायतका कर्मचारी भने सहभागी थिए । मन्त्री यादवले भिषा नपाएपछि विभिन्न देशका प्रधानमन्त्री, मन्त्रीहरु सहभागी कार्यक्रममा नेपालबाट भने कर्मचारी मात्रै सहभागी भए ।

मन्त्री यादवले छोरा विपेश यादवलाई समेत उक्त कार्यक्रममा सहभागी गराउन खोजेका थिए । उनलाई स्वकीय सचिवको हैसियतमा कार्यक्रममा सहभागी गराउन खोजिएको बुझिएको छ ।

मन्त्री यादवले ‘भिषा नोट’का लागि परराष्ट्र मन्त्रालयमा समेत सम्पर्क गरेका थिए । तर, सो समय परराष्ट्र मन्त्री, सचिव र वरिष्ठ सहसचिव मन्त्रालयमा नभएका कारण ‘भिषा नोट’ लेखाएर भिषा लिने उनको प्रयास सफल नभएको परराष्ट्र स्रोतले जनाएको छ ।

मन्त्री यादवका प्रेस सल्लाहकार महेश चौरासियाले भने दिल्लीबाट पासपोर्ट ढिलो आइपुगेका कारण समस्या भएका बताए । उनले भने, ‘मन्त्रीज्युको पासपोर्ट दिल्लीमा थियो । पासपोर्ट ल्याएर भिषा प्रोसेस गर्दा ढिलो भयो । त्यसैले कार्यक्रममा सहभागी हुन पाउनुभएन ।’

प्रतिकृया दिनुहोस