नेपाल खानेपानी संस्थानबाटै पाइप खरिदमा २५ करोड घोटाला

Dhara

काठमाडौं । नेपाल खानेपानी संस्थानले नै डीआई (डक्टाइन आइरन) पाइप तथा फिटिङका सामान खरिदमा गर्दा २५ करोड रूपैयाँ घोटाला गरेको पाइएको छ ।

संस्थानको बुटवल र नेपालगञ्ज शाखाले सार्वजनिक खरिद ऐनविपरीत अनियमितता गरेको तथ्य भेटिएको हो । एउटै प्रकृतिको कामलाई टुक्रा गरेर ठेक्का दिई उक्त रकम घोटाला गरिएको खानेपानी मन्त्रालयको छानबिन प्रतिवेदनले औंल्याएको छ ।

ठेक्का दिने प्रक्रियादेखि ठेक्का लिएर काम गर्दासम्म स्वार्थ राखेर बद्नियतपूर्ण काम भएको निष्कर्ष प्रतिवेदनले निकालेको छ । खानेपानी मन्त्रालयका कानुन उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले आर्थिक चलखेलका लागि सार्वजनिक खरिद ऐनविपरीत काम गरेको ठहर गरेको छ ।

गत असार ३ गतेको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको समितिमा डिभिजनल इन्जिनियर दिनेश अधिकारी, इन्जिनियर शेखर खनाल, लेखा अधिकृत राजेशप्रसाद घिमिरे र सदस्य विष्णु सुब्बा थिए ।

प्रतिवेदनका अनुसार ठेक्का लिने कम्पनीसँग पहिल्यै मिलेमतो गरी किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने गरी शर्त बनाइएको छ । मिलोमतोमा उसैलाई ठेक्का दिएर अनियमितता गरेको उल्लेख छ । प्रतिवेदनमा दुवै कम्पनीलाई २५/२५ करोड रूपैयाँको पाइप तथा फिटिङको सामान खरिदको टेन्डर दिएको उल्लेख छ ।

संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसाद आफैं प्रत्यक्ष संलग्न रही २५/२५ करोड रूपैयाँ बराबरको टुक्रा पारी पाइपको टेन्डर स्वीकृत गरेका छन्। उनैले पाइप खरिद ठेक्काको सम्पूर्ण कागजात मिलाउन स्वीकृति दिन र अन्तिम निर्णय गर्न अग्रसर भएको प्रतिवेदनमा छ । अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस