दसैंको मुखैमा स्थानीयको घरमा चल्यो डोजर

Sanga ghar

काभ्रे । सोमबार काभ्रेको साँगाको रुप बदलिएको छ । आइतबारसम्म सडक किनारमा देखिएका घर सोमबार देखिएनन् ।

साँगाबासीले ५० वर्षअघि नै मुआब्जा लिइसकेका थिए । तर, साँगा बजारमा सडक छेउका घर अझैं हटाइएको थिएन । तर, सोमबार ती घरहरु डोजर लगाएर भत्काएपछि २०२१ सालमा निर्माण भएको अरनिको राजमार्ग फराकिलो बनाउन सहज भएको छ ।

सडक किनारका घर भत्काएर सडक फराकिलो बनाउन त सजिलो भएको छ । तर, स्थानीयलाई भने दसैंको मुखैमा घर भत्काइँदा चिन्ताले पिरोलेको छ ।

स्थानीय वासिन्दाले हिन्दू नेपालीको ठूलो चाड दसैंको मुखमा खान न पिउनु बनाएको गुनासो गरेका छन् । उनीहरुले दसैं सकिएपछि घर भत्काएको भए कसैले प्रतिकार गर्ने अवस्था आउने थिएन भनेका छन् । स्थानीयले भने दसैंपछि स्वेच्छाले छाड्ने तयारी गर्दागर्दै दसैंको मुखैमा घर न घाटको बनाएको दुखेसो छ ।

सडक क्षेत्रको घर टहरा हटाउने क्रममा केहीमा प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्ग अवरोध गरेर विरोध जनाएका थिए ।

राजमार्ग खुलाउन खोज्दा साँगाका घर टहरा सञ्चालक स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र दुई सेल अश्रुग्यास हानेको थियो ।

पछिल्लो पटक बनेपा नगरपालिका र डिभिजन सडक कार्यालय र प्रहरी प्रशासनको सक्रियतामा सडक क्षेत्रको अवैध टहरा हटाउने काम तीब्र रुपमा भइरहेको छ । स्थानीयको अवरोधका कारण भक्तपुर र काभ्रेको सिमाना साँगामा सडक फराकिलो पार्न अवरोध भए पनि अहिले हटाउन सफल भएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस