निधि भन्छन्, ‘निर्मलाको हत्यारा पत्ता नलाग्नुको कारण भनेकै राज्यको संलग्नता हुनु हो’

Bimalendra nidhi in dang

दाङ । वर्तमान सरकारले संघीय प्रणालीलाई ध्वस्त पार्न खोजेको नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आरोप लगाएका छन् ।

आइतबार प्रेस यूनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा निधिले संघीय व्यवस्थाले निर्दिष्ट गरेका कुनै पनि काम वर्तमान सरकारले अहिलेसम्म गर्न नसकेका कारण संघीय व्यवस्था नै ध्वस्त हुने हो कि भन्ने आशंका कांग्रेसमा बढ्दै गएको बताएका हुन् ।

‘वर्तमान सरकारको ६/७ महिनाको अवधिमा संघीय व्यवस्थाले निर्दिष्ट गरेका कुनै पनि काम हुन नसक्नु दुर्भाग्य हो’, निधिले भने ‘वर्तमान सरकारको यो कमजोरीले कतै संघीय व्यवस्थालाई नै ध्वस्त बनाउन लागिएको त हैन भन्ने आशंका बढेको छ ।’

भर्खरै सकिएको प्रतिनिधिसभाको अधिवेशनबाट समेत प्रदेश सरकारलाई दिइने अधिकार सम्बन्धी कुनै पनि कानुन निर्माण नहुनुले वर्तमान सरकारको नियत माथि प्रश्न राख्ने ठाउँ प्रशस्त रहेको उनले बताए। ‘अहिलेसम्म प्रदेश सरकारको कन्ट्रोलमा राज्यको कुनै पनि निकाय छैन’, निधिले भने, ‘यसको संकेत के हो त ? यो गम्भीर प्रश्न उब्जिएको छ ।’

देशमा बढिरहेका आपराधिक घटनाका दोषी राज्यले पक्राउ गर्न नसक्नुमा ती घटनाहरुमा राज्यकै संलग्नता रहेको दाबीसमेत उनले गरे । कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डबारे उनले भने, ‘अहिलेसम्म हत्यारा पत्ता नलाग्नुको प्रमुख कारण भनेकै त्यो घटनामा राज्यको संलग्नता हुनु हो ।’

वर्तमान सरकारको गतिविधिका कारण नागरिक आजित बनिसकेको भन्दै वर्तमान सरकारको असफलता सत्तारुढ पार्टीकै नेताहरुको आलोचनाले प्रष्ट पारेको समेत बताए ।

प्रतिकृया दिनुहोस